अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्यका कारण अध्यक्ष ओली संसदमा अनुपस्थित : शरणार्थी प्रकरण बारे स्वास्थ्य अनुकुल भएपछि धारणा राख्ने

स्वास्थ्यका कारण अध्यक्ष ओली संसदमा अनुपस्थित : शरणार्थी प्रकरण बारे स्वास्थ्य अनुकुल भएपछि धारणा राख्ने


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग रहेका सबै तथ्य संसदमा सुनाउने योजनामा स्वास्थ्यले साथ नदिएको उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा जेठ ४ गते संसदमा केही नयाँ तथ्यहरुको खुलासा गर्ने बताउनुभएको थियो । बैशाख २८ गते देखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको थियो ।

अध्यक्ष ओलीको स्वास्थ्य प्रतिकुल भएका कारण आजको संसद बैठकमा उपस्थित हुन नसकेको जनाउनुभएको छ ।
‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद् बैठकमा सहभागि हुन सकिनँ। नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद्समक्ष राख्ने मैले यसअघि बताएको थिएँ’, अध्यक्ष ओलीले लेख्नुभएको छ , ‘स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु।’

संसदमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर गराउने सभामुख देवराज घिमिरेको निर्णयलाई उहाँले सकारात्मक भन्नुभएको छ ।

‘सम्माननीय सभामुखज्यूले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसद्हरुबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन आजदेखि सुरु गर्नु भएको छ। ठीक छ। प्रश्नहरु दुई किसिमका हुन्छन्। एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ। देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्छ’, अध्यक्ष ओलीले लेख्नुभएको छ , ‘सांसद्हरुले संसद्मा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस्।’

त्यसले हरेक नागरिकले संसद्मा आफैँ भएको महसुस गर्न पाउने पनि उनले बताएका छन्। ‘प्रश्नहरु औपचारिकता मात्रै नहोउन् र उत्तरहरु ओठे प्रतिवद्धता मात्रै नहोउन्’ अध्यक्ष ओलीले लेख्नुभएको छ ।