काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले लडाकुको नाममा लुटेको बताएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले लडाकुको नाममा राज्यले उपलब्ध गराएको सहयोग खोजी गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘लडाकु शिविर प्रकरणमा ७-८ हजारको हाराहारीमा रहेको लडाकुहरूलाई ३२-३३हजार पुर्एको कुरा प्रचण्ड आफैले हुंकारका साथ बोलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित छ। वास्तविक लडाकु ७-८ हजारमध्ये केहीलाई शिविरमा राखेर अरू बाँकीलाई वाइसिएलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले बोल्ने गर्दछन् । शिविरमा रहेकाहरुले वुझ्नेगरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोसेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउँदै आएको कुरा हो । अनमिनले प्रमाणीकरण गरेकाहरूमध्ये धेरैजसो समायोजनमा नगएर स्वैच्छिक अवकाश रोजेर राज्यबाट ठुलो रकम प्राप्त गरेकै हुन्। यी सबै तथ्यहरूबाट राज्यले कति अनुचित आर्थिक भारवोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलब्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजिगर्दा लुक्नसक्ने कुरा होइन ।’
महासचिव पोखरेलले लडाकु शिविरमा कुनै भ्रष्टाचार नभएको भन्दै प्रचण्डले हुंकार दिइरहेको बताए ।
‘तर पनि प्रचण्डजीहरु अझै पनि ठुलो स्वरमा हुंकार दिइनै रहेका छन् लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन । हो नि लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्यमाथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ?’, उहाँले लेख्नुभएको छ ।
महासचिव पोखरेलले नेपाली जनताले शान्तिका नाममा सबै कुरा सहँदै आएको उल्लेख गर्नुभएको छ ।






प्रतिक्रिया