अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लडाकुको संख्या र बाँडिएको रकमबारे प्रधानमन्त्रीले ढाटनु भयो: रामचन्द्र राई

लडाकुको संख्या र बाँडिएको रकमबारे प्रधानमन्त्रीले ढाटनु भयो: रामचन्द्र राई


काठमाडौं – नेकपा एमालेका सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दिएको जवाफप्रति आपत्ति जनाउनु भएको छ।

आज राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार प्रतिनिधिसभामा सोधिएको प्रश्नको उही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।

प्रधानमन्त्रीले महालेखा परीक्षकको कार्यालयले ठीक छ भनेको विषयलाई यहाँ प्रश्न उठाउन उपयुक्त हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्दै यसले मुलुकको सुशासनमा टेवा नपुर्‍याउने उहाँको भनाई थियो। 

सांसद राईले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र त्यही अनुसारको काम गर्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराउनु भयो ।

‘हामी सबैको चाहना, नेपाली जनताको चाहना सुशासन हो। सुशासन कायम गर्न सकियो भने स्वभाविक हिसाबले नेपाली जनताबीच आशा पलाउँछ। यो आशा पलाउन मुलुकको नेतृत्व गरिरहेको मान्छेको भनाई र गराईमा एकरुपता हुन आवश्यक छ। मैले हिजो प्रतिनिधिसभाको पश्नोत्तर कार्यक्रम टीभीमा हेर्दै थिएँ। त्यहाँ एकजना माननीयज्यूले क्यान्टोनमेन्टको भ्रष्टाचारबारे कुरा उठाउनु भयो। त्यति मात्रै उठाउनु भएन, प्रधानमन्त्रीले हाम्रा सेना ७-८ हजार त हो नि। हामीले १९, २०, २२ हजार थपेर २० हजार प्रमाणीकरण गर्न भ्यायौंँ भन्नु भएको कुरा पनि सोध्नु भएको थियो। तर जवाफमा हिसाब ठिकै छ। महालेखा परीक्षकको कार्यालयले ठिक भनिसकेकाले नकोटयाऊँ भन्नुभयो। तर तपाईंले त्यो बेला भिडियो टेपमा ६/७ हजार मात्रै भन्नु भएको थियो नि। त्यो के हो भनेर सोधिएको थियो। यसले के देखाउँछ भने मुलुकको नेतृत्व गरिरहेको मान्छेले अभिव्यक्त गर्ने भनाई, गराई र व्यवहारमा एकरुपता भएन भने सुशासन कायम हुन सक्दैन।’ 

सांसद राईले नेपाली जनताले सुशासन र समृद्धि चाहेकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पार्नुभयो।