काठमाडौं – नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताउनुभएको छ।
दाङको तुलसीपुर–१९ स्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिका मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा उहाँले विगतमा जथाभावीरुपमा उत्खनन् गर्दा ऐतिहासिक तथ्य नष्ट भएको बताउनुभयो। 'यहाँ रहेका ऐतिहासिक हातहतियारको संरक्षण गर्न सरकारले विशेष ध्यानदिनुपर्छ, महासचिव पोखरेलले भन्नुभयो।
आफू मुख्यमन्त्री भएको समयमा ऐतिहासिक स्थलको संरक्षण गर्ने कार्यक्रम ल्याएको उहाँको भनाइ छ। सरकारको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रलाई यथेष्टरुपमा समेटिनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो।
नगरप्रमुख टीकाराम खड्काले छिल्लीकोटको विकासका लागि साहसिक खेल जिपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। छिल्लीकोटसम्म पुग्न बिजौरी स्यालापानी हुँदै सडक कालोपत्र गरिँदै छ। स्यालापानीबाट केबुलकारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)समेत तयार गरिएको छ।






प्रतिक्रिया