अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो लाग्यो: सुवास नेम्वाङ

सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो लाग्यो: सुवास नेम्वाङ


पोखरा-नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको बताउनु भएको छ।

नेम्वाङले सरकारले ल्याएको कार्यक्रम देशको वर्तमान परिस्थितिलाई मध्यनजर नगरी ल्याइएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘देशले भोगेको समस्यालाई पार लगाउने खालको नीति तथा कार्यक्रम आएन। जुन ढंगले आर्थिक अवस्थामा देश गुज्रेको छ। यो अवस्थामा पार लगाउने कुनै कार्यक्रम देखिँदैन।’

आज नेकपा एमाले संसदीय दल गण्डकीले आयोजना गरेको कार्यक्रममा पोखरा आइपुगेका नेता नेम्वाङले देशको अवस्था देख्दा दुःख लाग्ने गरेको बताउनु भयो। एमाले संसदीय दलले शनिवार सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा आएका नेम्वाङले युवा पासपोर्ट बोकेर लाइनमा बसेको देख्दा आँसु आउने गरेको बताउनु भयो ।

‘अहिले हाम्रो युवा पासपोर्ट हातमा लिएर लाइन लागेर विदेश जानुपर्ने अवस्था छ,’ नेम्वाङले भन्नुभयो, ‘केही दिनअघि विदेशका कार्यक्रममा पनि पुगेको थिए। त्यो अवस्था देख्दा आँसु आयो।’

विदेशका कार्यक्रममा पुग्दा युवाको दुःख र वेदना देख्दा मन पोल्ने गरेको उहाँले सुनाउनु भयो। देशको आर्थिक अवस्था जटिल हुँदा पनि सरकारले नीति तथा कार्यक्रममा आर्थिक जटिलतालाई पार लगाउने योजना नल्याएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘जुन संसदीय प्रणालीमा हामी छौँ नेकपा एमालेलाई नसमेटी केही गर्न सक्ने अवस्था  छैन। तर, कुनै पनि जानकारी बेगर देशको प्रमुख दललाई एक्लो बनाउने काम भइरहेको छ।’

सरकारले पाँच महिना बित्दा पनि मिनी संसद् (संसदीय समिति) लाई सक्रिय बनाउन नसकेको उहाँको भनाइ थियो । ‘पाँच महीना बित्दा पनि संसदीय सभापति, अध्यक्ष छनोट गर्न सकेका छैनौँ। ज्येष्ठ सदस्यले सञ्चालन गर्नुपर्ने अवस्था छ। सरकारले कस्तो काम गरेको छ। यो पनि एउटा राम्रो उदाहरण हो। संसद्को हालत यस्तो छ। सरकारकै मन्त्रीहरू मेरो मन्त्रालय अरू कसैले चलाउँछ भन्नुहुन्छ ?’

नेकपा एमाले गण्डकी संसदीय दलका नेता तथा सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले प्रदेश सरकारले बनाउँदै गरेको नीति तथा बजेट कस्तो हुनुपर्छ भन्ने बारे अभिमुखीकरण राखिएको बताउनु भयो।

प्रदेश सांसदलाई नेता नेम्वाङ, डा. कृष्ण अधिकारी र योजना आयोगका पूर्व उपाध्यक्ष गिरिधारी शर्माले अभिमुखीकरण गराउनु भयो।

नेता अधिकारीले भन्नुभयो, ‘अब बस्ने बजेट अधिवेशन हाम्रो संसद्को भूमिका कस्तो हुनुपर्छ। प्राथमिकतासँगै सिद्धान्त कस्तो हुनुपर्छ।प्रदेशसभामा कसरी प्रस्तुत हुने भन्ने कुरामा रणनीति र कार्यदिशा तयार गर्न अभिमुखीकरण गरेका हौँ।’