काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन दुःखको कारण भएको बताउनु भएको छ। सरकारसँग अर्थतन्त्रलाई वृद्धि गर्ने कुनै योजना नभएको र खासमा सरकारसँग कुनै नीति नै नभएको उहाँले बताउनु भयो ।
प्रतिनिधिसभाको आज बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले अर्थतन्त्र ध्वस्त वर्तमान सत्ता गठबन्धनका कारण भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘के यहि दिन ल्याउनका लागि, के देशलाई ओह्रालो ल्याउनका लागि, अर्थतन्त्रलाई ध्वस्त बनाउनका लागि यो गठबन्धन बन्नुपरेको थियो ? यो गठबन्धन देश र जनताका लागि बनाएको कि देश र जनतालाई कष्ट दिनका लागि बनाएको ? दुःखको कारण भएको छ यो गठबन्धन।’
पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले वर्तमान गठबन्धन नै अर्थतन्त्रको संकटको कारक भएको बताउनु भयो। ‘नेकपा (एमाले)को सरकारलाई विस्थापन गरी बनेको कांग्रेस-माओवादी केन्द्रसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्याउने प्रमुख कारक हो,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूलाई लागेको होला यो सरकार राम्रो छ, सफल छ भनिदिए हुन्थ्यो । तथ्यांकहरूले त्यस्तो बोल्दैनन् ।’
सरकारसँग नीति र कार्यक्रम नै नभएको ओलीको भनाइ थियो । सरकारले ल्याएको नीति तथा कार्यक्रममा आर्थिक वृद्धिका योजना नै नभएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो प्रस्तावित नीतिमा उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना नै छैन । आधुनिक पूर्वाधार निर्माणका कार्यहरू तीव्र गतिमा अगाडि बढाउने उत्साह नै छैन ।’
प्रतिक्रिया