काठमाडौं – नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले सरकारको नीति तथा कार्यक्रम गतिविहीन दस्तावेज भएको बताउनु भएको छ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे आज बसेको संसद बैठकमा उहाँले १८८ बुँदामा आएको नीति तथा कार्यक्रममा सबै राम्रा शब्द राख्न खोजिएको तर सरकार आफैँ अल्मलिएको जस्तो बिना तयारीको बताउनु भयो ।
नीति तथा कार्यक्रममा वर्तमान अर्थतन्त्रको बारेमा कुनै सम्बोधन नगरिएको र यो कहाँ पुग्ने हो? गन्तव्य के हो ? उद्देश्य के हो? भन्ने पत्तै नभएको उहाँले बताउनु भयो ।
जनताको आम्दानी कसरी बढाउने, बेरोजगारी समस्या कसरी समाधान गर्ने भन्ने केही उल्लेख नभएकाले नीति तथा कार्यक्रमले निराश जनतामा कुनै उत्साह ल्याउन नसकेको धारणा उहाँले राख्नुभयो ।
‘महंगीले जनताको ढाड सेकेको छ, नीतिगत भ्रष्टाचार, निजी क्षेत्रको लगानी यस्ता समस्या समाधानका लागि उपाय छैन, लक्ष्य यति अवधिभित्र पूरा गर्छौँ भनेर आउनुपर्थ्यो त्यो छैन,’ उहाँले भन्नभयो, ‘देश असामान्य अवस्थामा गुज्रिएको छ। जनतामा निराशा छाएको छ। आज सरकारले त्यो उत्साह ल्याउन सकेको छैन।’
प्रतिक्रिया