काठमाडौँ–एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि सुरु हुँदैछ । खेल आज दिउँसो २ बजेबाट सुरु हुनेछ । खेलेको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ ।
भलिबल इतिहासमा नेपालमा अहिले सम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगितामा नेपालसहित ८ राष्ट्रले प्रतिष्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यसतै समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् ।
प्रतियोगितामा सहभागी हुने टोलीका लागि सबै व्यवस्थापन अन्तिम चरणमा पुगेको हो । आयोजक नेपालले उद्घाटन खेलमा किर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ ।
नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । राउण्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् ।
कुल २० खेल हुने च्यालेन्ज कपमा उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ ।
२ करोड ७१ लाख अनुमानित बजेट रहेको प्रतियोगिताका लागि आयोजकले विभिन्न समिति बनाएर तयारी गरेको बताइएको छ । यसअघि दुवै पटक बंगलादेश गएर खेलेको नेपाल यस पटक घरेलु कोर्टमा घरेलु समर्थकअघि खेल्न उत्साहित छ ।
प्रतिक्रिया