काठमाडौँ – नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको पशु चौपायामा लाग्ने लम्पी स्कीन रोगका कारण किसान मारमा परे पनि सरकारले बेवास्ता गरेको बताउनु भएको छ।
आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उहाँले मकवानपुरमा दुई सयभन्दा बढी गाईहरू यो रोगबाट मरिसके पनि सरकाको ध्यान नपुगेको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘सरकारको आँखा र कान छ भने पटक-पटक सो संसदमा लम्पी स्कीन रोगका बारेमा धेरै माननीयज्यूहरुले कुरा राख्नुभयो, मैले पनि पटक पटक विषय राखेँ । मकवानपुरमा दुई सय भन्दा बढी गाईहरू यो रोगबाट मरिसके । ५ हजारभन्दा बढी गाईहरू सङ्क्रमित छन् । देशका धेरै भागहरूमा यसको असर छ । पटक पटक भनियो, सरकार देख्दैन, सरकार सुन्दैन ।’
उहाँले यो समस्या समाधानमा, पीडित गाईपालक किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभयो। उहाँले भन्नुभयो, ‘भीषण असिनापानीका कारण मकवानपुरगढी गाउँपालिकाका सबै वडाहरूमा तरकारी बाली अन्नबाली तहस नहस भएको छ, जनताका घरहरू चाल्नोजस्तो प्वालै प्वाल परेको छ ।’
प्रतिक्रिया