काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताउनुभएको छ।
आज प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुँदै सांसद वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताउनुभएको हो।
उहाँले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अल्मल्लिएको टिप्पणी गर्नुभयो। उहाँले नविनता, ऊर्जा, प्रेरणा र महत्वकांक्षाको कसिमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘‘रास्वपा रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ । हामी भन्छौँ, परम्परा धान्नलाई ल्याइएको दस्तावेज हो। र परम्परा धानिएको पनि छ । नविनता, ऊर्जा, प्रेरणा, महत्त्वाकाङ्क्षा इत्यादीका कसिमा हामी अझ राम्रो गर्नसक्थ्यौँ होला ।’’
सांसद वाग्लेले नीति तथा कार्यक्रममा विकासको साझा रणनीति ‘डिरेल’ भएको पनि बताउनुभयो । उहाँले जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै यसपालि यथार्थपरक बजेट ल्याउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । त्यसैगरी पूर्वाधारको मोडलमा पनि पुनःविचार गर्नुपर्ने उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, ‘‘बजेटहरु अविश्वसनीय हुनुको कारण के पनि हो भने जेठमा सुन्निएको, अविश्वसनीय बजेट बनाउने, अनि माघमा चुपचापसँग साइजमा लिएर आउने । तसर्थ यसपालि यथार्थपरक बजेट ल्याउन म सरकारलाई आग्रह गर्छु । पूर्वाधारकै नमुनामा पनि हामीले पुनःविचार गर्नुपर्यो । पूर्वतयारी, लागत, सञ्चालको ढाँचा इत्यादीमा हामीले नयाँ शिराबाट वहस गर्नुपर्ने हुन्छ ।’’
उहाँले नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जघाउने खालको बजेट आउनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया