काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गर्नुभएको छ।
मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरूको पदाधिकारी भेलामा बोल्दै उहाँले सरकारले विदेशीसँग एउटा कुरा र संसदमा अर्कै कुरा गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको सरकारको कुरा गरेर म समय खर्च गर्न चाहन्न। विदेशीहरूसँग एउटा कुरा गर्छ। पार्लियामेन्टमा राम्रो छ भनिएको छ। अब बजेट सरकारले कसरी ल्याउछ ? अनौठो स्थिति छ। बजेट बनाउन गाह्रो छ। किनभने सरकार चलाउने खर्च सरकारसँग छैन।’
अध्यक्ष ओलीले मुलुकको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सर्तक भएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो।
पार्लियामेन्टमा पोशाक लगाएर आऊ भन्दा त्यसको विरोध र अवज्ञा गर्नुलाई बहादुरी ठान्ने अवस्था आउनु राम्रो नभएको ओलीको भनाइ थियो।
राजनीतिले भाषा अत्यन्त अशिष्ट, अमर्यादित, अभद्र र असामाजिक, समाजले स्वीकार गर्न नै नसक्ने भाषा बनाएको ओलीको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘त्यस्तो घटिया भाषा प्रयोग गरेर, नराम्रो भाषा प्रयोग गरेर आफ्ना कुरा तवमात्रै सम्प्रेषण हुन सक्छ, जब अश्लील बोलिन्छ।’







प्रतिक्रिया