काठमाडौँ – सरकारले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो।
२०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो। २०६२/०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाउने गरिएको थियो।
सरकारले अब यही वर्षदेखि लागू हुने गरी राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको शिक्षामन्त्री अशोक राईले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘असोज २ गते नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिन हो । त्यसकारण त्यो दिन सबै नागरिकले सम्झनुपर्ने, गौरव मान्नसक्ने दिन हो । हामीले त्यही दिनको महत्वलाई ध्यानमा राखेर राष्ट्रिय शिक्षा दिवस असोज २ मा मनाउने निर्णयमा पुगेका छौँ ।’
प्रतिक्रिया