काठमाडौं – नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले नागरिकतामा कैफियत देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बच्न बालुवाटारमा म्याउँम्याउँ गर्न पुगेको टिप्पणी गर्नुभएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘आज भर्खरै मात्र पनि मैले सुनें, भुटानी शरणार्थी प्रकरणबारे, जुन अहिले छानबिन भइरहेको छ, तीन पार्टीले बालुवाटारमा बसेर मिलाउने गरी छलफल गर्दैछ। कुनकुन तीन पार्टी हुन् ? उहाँले बोल्नु त भएन। यस्ता यस्ता साथीहरू छन्, म भन्न चाहन्छु- तीन पार्टी होइन, रातिको समयमा तपाईंहरू पनि आफू बच्नका लागि कसरी बालुवाटारमा म्याउँम्याउँ गर्नु भएको थियो?’
तीन पार्टीलाई देखाएर आफू स्थापित हुनेगरी नयाँ शक्तिहरू लागि परेको उहाँले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘परिवर्तनका लागि लडेका पार्टीहरूका विरूद्धमा भित्र र बाहिर भाषण गर्नेगरी जुन प्रकारको शक्तिहरू आइरहेको छ, त्यस्ता शक्तिबाट हामी सावधान पनि हुनुपर्छ।’
प्रतिनिधिसभाको बैठक शुरू हुनेबित्तिकै विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने तर्क गर्नुभएको थियो।
प्रतिक्रिया