काठमाडौँ–जुलिओ इन्सिसोले उत्कृष्ट गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउँदा म्यानचेस्टर सिटीलाई १–१ काे बराबरीमा रोक्दै रोबर्टो डे जेर्बीको टिमले आगामी सिजनको युरोपा लिगमा स्थान सुरक्षित गरेको छ ।
१९ वर्षीय पराग्वेका फरवार्ड खेलको पहिलो हाफ हुन सात मिनेट बाँकी रहँदा २५ यार्डको दूरीबाट गोल गरेपछि गणीतिय रुपमा ब्राइटनले प्रिमियर लिगको छैटौं स्थानमा रहँदै सिजन टुंग्याउने सम्भावनालाई निश्चित गरेको हो ।
त्यसअघि खेलको २५औं मिनेटमा फिल फोडेनले गोल गर्दै दुई खेल अगावै प्रिमियर लिगको उपाधि जितेको सिटीलाई अग्रता दिलाएका थिए । ७९औं मिनेटमा एर्लिङ हाल्यान्डले गोल गरे पनि त्यसलाई भिडियो असिस्टेन्ट रेफ्री (भार) खारेज गरेपछि सिटी बराबरीमै सीमित बन्यो । भारको यो निर्णयप्रति सिटीका प्रशिक्षक पेप ग्वार्डिओला आक्रोशित बनेका थिए र पछि उनले रेफ्रीबाट पहेलो कार्डको दर्शन गरेका थिए ।
प्रिमियर लिगको उपाधि रक्षा गरेको सिटीलाई खेलअघि ब्राइटनले ‘गार्ड अफ अनर’बाट सम्मान गरेका थियो । लिगमा सिटीले ३७ खेलबाट ८९ अंक जोडेको छ । समान खेल खेलेको ब्राइटनको ६२ अंक छ । जुन सातौं स्थानमा रहेको एस्टोन भिल्लाभन्दा चार अंक बढी हो । प्रिमियर लिगमा सिजन समाप्त हुन अब अन्तिम एक खेलमात्र बाँकी छ ।
प्रतिक्रिया