अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौं: रवि लामिछाने

भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौं: रवि लामिछाने


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताउनु भएको छ।

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसङ्ग उठाउँदै भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताउनु भएको हो ।

आज पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्ट्राचार विरुद्धको पार्टीको अभियान नरोकिने बताउनु भयो।

‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढछौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला। कत्रो सजाय भोग्नुपर्छ होला। मलाई थाहा छैन । तर मलाई मतलब छैन’ उहाँले भन्नुभयो, ‘किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइनन्। भोट हाल्न नेता नभएर होइन। नेपाली जनतालाई जिन्दाबाद भन्न अरू कुनै पार्टी नभएर होइन। नेपाली जनतालाई भोट हाल्नका लागि अरू कुनै चिन्ह नभएर होइन। नेपाली जनताले यो भ्रष्टाचार चाहिँ निर्मूल पार्नुपर्‍यो भनेर घण्टी बजाएका हुन्, यो कुरा हामीले बुझेका छौँ ।’

नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै उहाँले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीमाथि जतिसुकै घेराबन्दी हुन्। जतिसुकै मुद्दा चल्दै गरुन् । भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्ट्राचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ । अरू विवाद हामी गर्दै गरौँला। अरू छलफल हामी गर्दै गरौँला ।’