अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको भारत भ्रमण : यस्ता छन् एमाले महासचिवका ९ सुझाव 

प्रधानमन्त्रीको भारत भ्रमण : यस्ता छन् एमाले महासचिवका ९ सुझाव 


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ९ वटा सुझाव दिनुभएको छ । 

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ९ वटा सुझाव दिनुहुँदै राष्ट्रिय शक्तिहरूका बीचमा बलियो समझदारी हुनुपर्ने बताउनुभएको हो । यस्तै उहाँले नेपालको हितका पक्षमा तयारीसहितको स्पष्ट अडान आवश्यक रहेको उल्लेख गर्नुभएको छ । 

‘यतिवेला नेपालको प्राथमिकता भारतसँगको विद्युत् व्यापार होइन, नेपालमै विद्युतको खपत वृद्धिगर्ने परियोजनाहरूको विकासको कुरा हो’, उहाँले लेख्नुभएको छ,’त्यसमा भारतको लगानी र सहयोगमा जोड दिनु राम्रो हुन्छ ।’ 

महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण भारतको चाहनामा होइन नेपालको राष्ट्रिय हितका विषयमा केन्द्रित हुन सक्नुपर्ने बताउनुभयो ।  

प्रधानमन्त्री प्रचण्ड आजदेखि यही जेठ २० गतेसम्मका लागि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । 

यस्ता छन् महासचिव पोखरेलका सुझाव: 

१ इपिजिको प्रतिवेदनलाई स्विकार गरी त्यसको कार्यान्वयनको तयारी

२ गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका नयाँ एअररुटको सुनिश्चितता

३ नयाँ (चुच्चे) नक्सामा आधारित भई सीमा समस्याको समाधानको थालनी

४ डुबान समस्याको समाधानका सन्दर्भमा विगतमा भएको सहमतिको कार्यान्वयन

५ भारतसँगको बढ्दो व्यापारघाटा कम गर्ने सन्दर्भमा ठोस पहल

६ खुला सीमालाई प्रभावकारी रूपमा नियमन गर्ने विषय

७ तेस्रो मुलुकसँगको व्यापारमा भारतीय बन्दरगाह र मार्गको प्रयोगमा सहजता

८ गंगा रिभरवेसिन हुँदै नेपालसम्मको जलयातायातको विकास

९ भारतीय प्रधानमन्त्रीबाट घोषणा गरिएको सहुलियतपूर्ण कर्जाको प्रयोगमा उत्पन्न जटिलताको समाधान ।