अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा जस्तो छाडापन काहीं छैन होला: अध्यक्ष ओली

नेपालमा जस्तो छाडापन काहीं छैन होला: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा छाडापन बढेको टिप्पणी गर्नु भएको छ। नेपालमा जस्तो छाडापन कहीँ नभएको उहाँको भनाइ छ।

राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘आज दुनियाँमा यहाँ जस्तो छाडापन कहीँ नहोला। युट्युब खोल्न सकिँदैन। खोल्न पर्यो भने एकान्त कुनामा जानुपर्छ। के आउने हो भनेर डराउनुपर्छ। यति छाडापन काहीँ देखिँदैन होला।’

जसका पुर्खाले सभ्यता र संस्कृतिको सुरुवात गरे, जहाँबाट ज्ञान र सभ्यता सुरु भयो त्यो धर्ती आज के बोल्ने के नबोल्ने भन्ने बार बन्देज नै नभएको अवस्थामा पुगेको उहाँले बताउनुभयो । नेपाली समाजको सभ्यता र संस्कृति नै धरापमा परेको ओलीको भनाइ छ। 

सुकार्यबाट नै धर्म, प्रसन्नता र सुख प्राप्त हुने ओलीले बताउनुभयो। अर्थतन्त्र बिग्रियो भने केही समयमा सुध्रिने भए पनि समाज बिग्रियो भने सुध्रन धेरै समय लाग्ने ओलीको भनाइ छ। यसले देश बिग्रँदै गएको भन्दै अध्यक्ष ओलीले चिन्ता व्यक्त गर्नुभयो। 

जतिबेला लिपि थिएन त्यतिबेला पनि सुश्री र स्मृतिको माध्यमबाट नेपाली समाजमा विभिन्न ज्ञान, सङ्गीत, कला संस्कार र संस्कृति सर्दै आएको ओलीले बताउनुभयो । त्यसरी जोगिएर आएको नेपाली भाषा, सङ्गीत, कला अहिले संकटमा परेको ओलीको भनाइ छ। 

अध्यक्ष ओलीले अहिलेको समाज विकृतितर्फ भासिँदै गएको बताएउनु भयो।