अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारका कारण राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनता संकटमा: पृथ्वीसुब्बा गुरुङ

गठबन्धन सरकारका कारण राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनता संकटमा: पृथ्वीसुब्बा गुरुङ


रामेछाप-नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सत्ता गठबन्धन सरकारका कारण राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनता संकटमा परेको बताउनुभएको छ। 

प्रेस चौतारी नेपाल नवलपुर शाखाको नवौँ वार्षिक साधारण सभालाई बुधबार सम्बोधन गर्दै उपमहासचिव गुरुङले सरकारका कार्यक्रम र गतिविधि राष्ट्र हित विपरीत रहेका बताउनुभयो। सरकारले एकपछि अर्को राष्ट्रहित विरुद्धका काम गरिरहेको बताउनु भयो।

देश आर्थिक हिसाबले पनि निक्कै संकटमा रहेको गुरुङले बताउनुभयो। यस्तो अवस्थामा पनि सरकार गम्भीर नभएको उहाँको भनाइ छ। सरकारले ल्याएको बजेट कर्मकाण्डी, परम्परावादी, र निराशा र अस्थिरता ल्याउने खालको रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘६५ प्रतिशत बजेट एउटा सरकारलाई र बाँकी बजेर ७ सय ६० वटा सरकारलाई वितरण गरेर सरकारले संघीयता विरोधी बजेट ल्याएको छ।’ 

एमालेविरुद्ध डरलाग्दो घेराबन्दी भएको पनि गुरुङले बताउनुभयो। एमालेको विरुद्ध सबै शक्ति लागेर भ्रामक प्रचार गरिरहेका उहाँले बताउनु भयो।

सरकारले छानबिन गर्नु पर्ने भ्रष्टाचारका अनेक काण्ड भए पनि विना सन्दर्भ पशुपति मन्दिरको सुन काण्डको विषय उठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हमला भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘एमालेलाई सत्तामा जानै दिनुहुन्न, समाप्त पार्नुपर्छ भनेर केही शक्ति हात धोएर लागेका छन् ।’

उपमहासचिव गुरुङले देश निर्माणको लागि कम्युनिष्टबीचको  सहकार्य र एकता जरुरी रहेको बताउनुभयो। विभिन्न चिरामा विभाजित कम्युनिष्ट पार्टी एक ठाउँमा आउनु पर्नेमा उहाँले जोड दिनुभयो। 

उपमहासचिव गुरुङले एमालेका जनवर्गिय संगठन र पार्टीलाई व्यवस्थित गरेर अघि बढाउन आवश्यक रहेको बताउनुभयो। जनसंगठन र पार्टीमा युवा पुस्ताको सहभागिता आजको चुनौती रहेको गुरुङको भनाइ छ।

एमाले र त्यसका जनसंगठन अन्य पार्टी र तिनका जनसंगठन भन्दा फरक देखिनु पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा  लगायतले बोल्नुभएको थियो । सो कार्यक्रममा प्रेस चौतारीको तर्फबाट पत्रकारिता पुरस्कार समेत वितरण गरिएको थियो।