मड्रिड-करिम बेन्जेमाले रियल मड्रिडसँगको आफ्नो करियर गोलसँगै अन्त्य गरेका छन् । ला लिगामा एथ्लेटिक बिल्बाओविरुद्धको सिजनको अन्तिम खेलमा बेन्जेमाको गोलको मद्दतले रियलले बराबरी खेलेको हो ।
रियलको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका बेन्जेमाले खेलको ७२ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । त्यतिबेला रियल एक गोलले पछि परेको स्थितिमा रहेको थियो । यसअघि खेलको ४९ औँ मिनेटमा ओइहान सानचेटले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
आइतबार रियलले बेन्जेमाले १४ वर्षपछि क्लब छाड्न लागेको जानकारी दिएको थियो । बेन्जेमा रियल छाडेर साउदी जाने तयारी गरेको बुझिएको छ । खेलको ७४ औँ मिनेटमा मैदान छाड्दा रियलका समर्थकहरूले बेन्जेमालाई न्यानो बिदाइ गरेका थिए ।
रियलले यो सिजन बार्सिलोनाभन्दा पछि पर्दै लिगको दोस्रो स्थानमा सीमित बनेको छ ।-एजेन्सी
प्रतिक्रिया