अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सङ्घीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण: मुख्यमन्त्री हिक्मत कार्की

सङ्घीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण: मुख्यमन्त्री हिक्मत कार्की


मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय किताब खाना ललितपुरद्वारा तयार गरिएको ‘प्रादेशिक पिआइएस पोर्टल हस्तान्तरण’ कार्यक्रममा उहाँले पोर्टलको निर्माणबाट प्रदेशका र स्थानीय निकायका कर्मचारीको मनोबल उच्च भएको धारणा राख्नुभयो।

मुख्यमन्त्री कार्कीले पोर्टलमा कर्मचारीको व्यक्तिगत विवरण व्यवस्थित राख्ने एवं सेवापछि पाउनेपर्ने सम्पूर्ण विषयका अभिलेखीकरणबारे जानकारी दिनुभयो । उहाँले प्रदेशमा राष्ट्रिय किताब खानाको स्थापनाले सङ्घीय संरचनाको कार्यान्वयनलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले हस्तान्तरण भएको प्रादेशिक पोर्टललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि मुख्यमन्त्री कार्यालय तथा सम्बन्धित महाशाखालाई निर्देशन दिनुभयो।

प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले प्रदेश पोर्टल सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पाटो भएको धारणा राख्नुभयो। राष्ट्रिय किताब खानाका उपनिर्देशक सुशीला अर्यालले पोर्टलले प्रदेशको जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो । उपनिर्देशक अर्यालले मुख्यमन्त्री कार्यालयका सचिव माधवप्रसाद पोखरेललाई उक्त पोर्टल हस्तान्तरण गर्नुभएको थियो ।