पर्वत-म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। बस सोमबार साँझ मध्य पहाडी लोकमार्गको सडकछेउमै पल्टिएको थियो।
दुर्घटनामा घाइते भएकामध्ये नागेन्द्र सुवेदी, लक्ष्मी सिरपाली, शर्मिला सिरपाली, शङ्कर परियार, कुमार बि.क., सिर्जना नेपाली र हर्कवीर थापामगरलाई पर्वत अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारको लागि पोखरा पठाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार दुर्घटनामा परी ९ जना पुरुष, ७ जना महिला र २ जना बालबालिका घाइते भएका छन्।
घाइते भएकाहरूको पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २० वर्षीय शङ्कर परियार, मोदी गाउँपालिका–६ का ४८ वर्षीय चेतबहादुर जि.सी, म्याग्दीको मालिका गाउँपालिका–४ महभिरका २७ वर्षीय ओमबहादुर बि.क., पर्वतको कुश्मा नगरपालिका–४ भण्डारी टोलका ८ वर्षीय कार्तिक नेपाली, म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँका २५ वर्षीय कुमार बि.क रहेका छन्।
पर्वतको जलजला गाउँपालिका–४ मल्लाजकी २४ वर्षीया सिर्जना नेपाली, म्याग्दीको बेनी नगरपालिका–४ सुरकीमेलाका ४४ वर्षीय हर्कवीर थापामगर, पर्वतको जलजला गाउँपालिका–२ मल्ला जका २१ वर्षीय यशू बोहरा, म्याग्दीको मालिका गाउँपालिकाकी ३० वर्षीया शर्मिला सिरपाली, बालिका लक्ष्मी सिरपाली, म्याग्दीकै धौलागिरि गाउँपालिकाका ३१ वर्षीय नगेन्द्र सुबेदी, म्याग्दीकै मङ्गला गाउँपालिका–२ सिमलचौरका ३० वर्षीय प्रेम किसन रहेका छन्।
दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूको विवरण सङ्कलन भइरहेको ट्राफिक प्रहरीले बताएको छ।





प्रतिक्रिया