काठमाडौं-अर्थमन्त्री डा.प्रकाशशरण महतले करका दर हेरफेरमा कोही पनि अनधिकृत व्यक्ति संलग्न नरहेको स्पष्टीकरण दिनु भएको छ।
प्रतिपक्षी दलहरुले जवाफ माग गरेपछि मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको जिकिर गर्नुभयो ।
करका दर हेरफेर प्रकरणमा पूर्वनासु रामकृष्ण श्रेष्ठको संलग्नताबारे स्पष्टीकरण दिँदै महतले निर्णय प्रक्रियामा कुनै संलग्नता नरहेको बताउनु भयो ।
अर्थमन्त्री महतले भन्नुभयो, ‘रामकृष्ण श्रेष्ठ भन्ने व्यक्तिले आधिकारिक व्यक्तिले लगाए अहराएको कामबाहेक अरु केही गरेको छैन। भनेको कुरा इन्ट्री गर्ने काम मात्रै गरेका हुन्।’
अर्थमन्त्री महतले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘इमानदार भएर काम गर्न कठिन हुँदो रहेछ। इमानदार हुँदा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ। एउटा पत्रिकाले एउटा समाचार पटक पटक दोहोर्याउँछ र हामी सत्य ठान्दछौं। कुनै पनि प्रभावबाट मुक्त भएर मैले काम गरेको छु। म अर्थमन्त्री हुने दिनदेखि नै कुनै प्रभावबाट मुक्त भएर काम गर्छु भन्ने प्रतिवद्धताका साथ अफिसमा पसेको हुँ त्यो पालना गरेको छु । यो पदमा रहेसम्म पूर्णरुपमा कर्तव्यनिष्ठ रुपमा निर्वाह गर्दछु।’
प्रतिक्रिया