काठमाडौं-नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
बिहीबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद लामाले समस्या समाधानका लागि पीडितहरू महिना दिनदेखि राजधानीमा भौँतारिरहेका बताउँदै पीडितको पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो।
सांसद तामाङले भन्नुभयो, ‘कुरो उठाएको उठायै छु। सरकारले गर्छु मात्र भन्ने । हाम्रो कञ्चनपुर जिल्लाको आरक्ष पीडितहरूको वर्षौँदेखिको समस्या समाधानका लागि केही प्रगति भएको छैन। नयाँ सरकार बनेपछि समस्या समाधान हुन्छ कि भनेर आस गरेर अहिले काठमाडौँमा हप्तौँदेखि पीडितहरू भौँतारिरहेका छन् । सरकारले उचित समस्या समाधानका लागि कहिले कदम चाल्छ ?’
तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा विस्थापित भएका सयौँ पीडित परिवारको राज्यबाट अझै पुनर्स्थापना हुन सकेको छैन । उनीहरू अझै पनि सडक र नदी किनारमा शिविर बनाएर बसिरहेका छन् । केही समयअघि आरक्ष पीडित सङ्घर्ष समिति बनाएर पीडितहरू काठमाडौँ आई जिल्लाबाट निर्वाचित सांसद र मन्त्री तथा प्रधानमन्त्रीसँग भेट गरेर समस्या समाधानका लागि पहल गरेका थिए तर उनीहरूको समस्याको अझै सुनुवाइ भएको छैन ।
प्रतिक्रिया