अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिचौलियालाई पाल्ने सरकार, दोषचाहिं एमालेलाई ?: पदम गिरी

बिचौलियालाई पाल्ने सरकार, दोषचाहिं एमालेलाई ?: पदम गिरी


कठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अहिलेको गठबन्धन सरकारले बिचौलियालाई संरक्षण गर्ने काम गरिरहेको बताउनु भएको छ।

आइतबार संसद् बैठकमा बजेटमाथिको छलफलका क्रममा आफ्ना भनाइ राख्दै उहाँले यस्तो बताउनु भएको हो।

गिरीले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा पूर्वकर्मचारीलाई बिचौलियका रुपमा अर्थमन्त्रालयमा छिराएर करका दरमा जथाभावी हेरफेर गरिएको पनि बताउनु भयो।

गिरीले एमाले गत फागुन १५ गते नै सरकारमा हटेको अवस्थामा यो गठबन्धन सरकारको फागुन १९ को निर्णयअनुसार फागुन २३ गते बजेट निर्माणमा प्रयोग गरिएका व्यक्तिलाई नियुक्ति दिइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी गठबन्धन सरकारबाट फागुन १५ गते हट्यौँ। फागुन १९ गते नियुक्तिको निर्णय गरेर फागुन २३ गते बजेट निर्माणमा प्रयोग गर्न पूर्वकर्मचारीलाई नियुक्ति दिइयो । सरकार बिचौलियाको प्रयोग गर्ने, अनि त्यसको दोष चाहिँ एमालेलाई ?’

प्रमुख सचेतक गिरीले अहिले सरकार नै बिचौलियाले चलाएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले सरकार नै बिचौलियाले चलाएका छन्। नैतिक रुपमा यो सरकार फेल भइसक्यो । अर्थतन्त्र धरापमा परेको छ। सर्वसाधारणलाई बाँच्न गाह्रो भएको छ। यो सरकारलाई अब सत्तामा बसिरहन नैतिक रुपले कुनै अधिकार छैन।’

प्रमुख सचेतक गिरीले कांग्रेस र माओवादीको गठबन्धन दुई वर्षदेखि सरकारमा रहेको बताउँदै गिरीले आजको देशको अवस्था कस्तो भएको छ ? भन्दै प्रश्न गर्नुभयो। 

१४ खर्ब राजश्व संकलन गर्ने लक्ष राखेकोमा ८ खर्ब रकम पनि संकलन गर्न नसकेको सरकार असफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारको असक्षमता देश र दुनियाँलाई थाहा हुनुपर्छ कि पर्दैन ?’

अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको देशले आउने आर्थिक वर्षमा १२ खर्ब राजश्व संकलन गर्ने कुरा गर्नु हास्यास्पद भएको उहाँले बताउनुभयो । यो लक्ष कुनै पनि हालतमा प्राप्त हुन नसक्ने गिरीले बताउनुभयो । देशमा अवस्था अहिले कहालीलाग्दो अवस्थामा रहेको उहाँले प्रष्ट पार्नुभयो । 

हिजो केपी ओली सरकारले सुरु गरेका कामलाई निरन्तरता दिए मात्रै पनि देश समाजवादको बाटोमा अघि बढ्ने उहाँले दाबी गर्नुभयो । तर सरकारले ती कार्यक्रमलाई समेत निरन्तरता दिन नसकेको उहाँले बताउनुभयो। अहिले सरकार दृष्टिकोणहीन भएको गिरीको भनाइ छ । 

उहाँले ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना यो सरकारले पूरा गर्न नसक्ने पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘एमालेमाथि भ्यू टावर बनाएको, जथाभावी सपिङ मल बनाएको आरोप गठबन्धनले लगाएको छ । तर दुई वर्षदेखि सत्तमा हुँदा सुकुम्बासीहरुको पेटमा चारो भर्ने काम तपाईंहरुले गर्नु भएको छ, गठबन्धनले गरेको छ ?’

नेकपा एमाले अहिले सत्तामा नभए पनि देशको राजनीति एमाले वरिपरि घुमिरहेको उहाँले बत्ताउनुभयो । देशका समस्या सम्बोधन गर्ने पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो।