काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्री प्रकाशशरण महतलाई ‘यस्तो बजेट बनाउने बुद्धि र ज्ञान कसले दियो ‘भन्दै प्रश्न गर्नुभएको छ।
प्रतिनिधिसभामा विनियोजन विधेयकबारे छलफलको क्रममा बोल्दै सत्तापक्षकै सांसदहरूको रुवाबासी देखेर आफ्नो क्षेत्रमा थोरै बजेट परे पनि धेरै गुनासो नभएको बताउनु भयो।
अध्यक्ष लिङदेनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गर्नुभएको छ। बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने उहाँको भनाइ थियो।
उहाँले बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे एउटा राम्रो परम्पराको सुरुवात पनि हुने र संसदको पनि गरिमा बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आफ्नो क्षेत्रमा त गर्नै पर्यो भनेर भन्नु भएको छ। राख्नु भएकै छ अबण्डामा तपाईहरुले पैसा। केही दिन पछि रकमान्तर गर्नु हुन्छ। निर्णयबाट खर्च गर्नु हुन्छ। अहिले देखिने गरी नै छ। नदेखिने गरी होइन। त्यसकारण अहिले म भन्छु–यो सच्याउनुस् ।’
अध्यक्ष लिङदेनले बजेटमा सत्तापक्ष भित्र रुवाबासीको अवस्था रहेको देखिनु बिडम्बनापूर्ण रहेको समेत बताउनु भयो। उहाँले भन्नुभयो, ‘बजेट बनाउने क्रममा जुन प्रवृत्ति विकसित भएर गइराखेको छ। त्यसमा खास गरेर सत्तापक्षले हामीले बारम्बार भ्रष्टाचारको विरोध गर्दा, काम भएन भनेर भन्दा, पहिलेको भन्दै काम कम भयो भन्दा पहिलेको भन्दा भ्रष्टाचार कम भयो, पहिलेको भन्दा बढि बाटो बन्यो भनेर साथीहरुले जो भनिराख्नु भएको छ । त्यो भए अब हामी पछाडि फर्कने? भन्ने जस्तो कुरा गरिराख्नु भएको छ। तर मैले के भन्छु भने जुन प्रवृत्ति विकसित भईराखेको छ। त्यसले तपाईहरुले भनेको व्यवस्थालाई नै कमजोर बनाउँछ।’
प्रतिक्रिया