अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले मुलुक हाँक्न सकेन, विकल्पको ढोका खुलिसकेको छ: राजेन्द्र गौतम

गठबन्धन सरकारले मुलुक हाँक्न सकेन, विकल्पको ढोका खुलिसकेको छ: राजेन्द्र गौतम


काठमाडौं-नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले वर्तमान गठबन्धन सरकारले मुलुक हाँक्न नसकेको कारण विकल्पको ढोका खुलिसकेको बताउनु भएको छ।

प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले आज आयोजना गरेको अन्तर संवादमा बोल्दै गौतमले एमाले सरकार परिवर्तनको खेलमा नलाग्ने प्रष्ट नीतिका साथ अघि बढेको भए पनि सरकार मुलुक हाँक्न नसक्ने प्रमाणित भएकोले विकल्प खोज्नुपर्ने बताउनुभयो।

‘सरकार परिवर्तनको खेलमा हामी छैनौं, तर सरकार आफैं असफल सावित भइसकेकोले जनताले सरकार परिवर्तनको बहस प्रारम्भ गरिसकेका छन,’ गौतमले भन्नुभयो, ‘एमाले सरकार परिवर्तनको खेलमा लाग्दैन। मुलुक असफल बन्दा हामी टुटु-टुलु हेरेर बस्न सक्दैनौं । मुलुकलाई निकास दिन सरकारको नेतृत्व गर्नुपरे एमाले तयार छ।’

वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको बताउँदै नेता गौतमले सरकारले कुनै पनि जनपक्षीय काम गर्न नसकेको बताउनुभयो । ‘बाढीपहिरोका कारण धनजनको क्षति भएको छ। त्यसको उद्दार, खोजी, राहत, उपचार, पुनस्थापना गर्ने कुरामा सरकार मौन छ’, गौतमले भन्नुभयो, ‘सरकारसँग जवाफदेहिता छैन, सरकार मौन छ । चौतर्फि गम्भीर मानवीय प्रश्न उठेका छन्। जनता नै सरकारको विकल्पको पक्षमाा छन्।’

उहाँले समाजवादी मोर्चालाई कांग्रेस तर्साउने खेलको संज्ञा दिनुभयो । ‘समाजवादी मोर्चा कांग्रेस तर्साउने गोटी हो । कांग्रेसभित्र सरकार परिवर्तनको बहस प्रारम्भ भएसँगै सरकारको बार्गेनिङ गर्न मोर्चा निर्माण गरियो । यसको गन्तव्य र भविष्य छैन । शक्ति कमजोर हुँदै जाँदा मोर्चाहरु बन्छन् । यस्ता मोर्चा जनताको पक्षमा रहदैनन ।’ गठबन्धनलाई विचार शुन्यताको भिडको संज्ञा दिँदै गौतमले निश्चित विचार र गन्तव्य नहुँदा सरकार पूर्ण असफल भएको बताउनुभयो ।

एमाले संविधानको पूर्ण कार्यान्वयनको पक्षमा रहेको भन्दै गौतमले सरकार संविधान विपरितका गतिविधि सञ्चालनमा लागेको बताउनुभयो । ‘संविधानमा समाजवादसम्मको यात्रा तय गरिएको छ । सरकारका गतिविधि समाजवाद उन्मुख देखिएका छैनन्’, गौतमले भन्नुभयो, ‘एमालेले समाजवाद उन्मुख नीति तर्जुमा गरेर कार्यसम्वाद प्रारम्भ गरेको थियो । जनता आवास कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता जनपक्षीय कार्यक्रम सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका थियौं ।’