अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पचास शय्याको जाजरकोट अस्पताल हस्तान्तरण

पचास शय्याको जाजरकोट अस्पताल हस्तान्तरण


जाजरकोट-पचास शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सोमबार हस्तान्तरण गरेको हो ।

विसं २०७७ असार २७ गते भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो भने २०७९ चैत २४ गते निर्माण पूरा गर्ने सहमति रहेको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा समेत सहज हुने भएको छ । 

अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि  काम सुरु हुने जानकारी दिनुभयो । भवनको अभावमा विभिन्न उपकरण प्रयोगमा आउन नसकेकामा अब जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने उहाँले बताउनुभयो ।

रु ३१ करोड ५६ लाख ७७ हजार चार सय ६२ मा भवन निर्माण सम्पन्न भएको जनाइएको छ । अध्यक्ष सिंहले तोकिएको समयभित्र निर्माण पूरा भएपछि  स्वास्थ्य सेवा प्रवाहमा सहज भएको बताउनुभयो । जिल्ला अस्पताल निर्माणसँगै यहाँबाट प्रवाह हुने सेवा सुविधासमेत सुधार हुनुपर्ने आम नागरिकको माग छ । 

सामान्य समस्या आउँदा पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्नुपर्ने बारेकोट–५ का मोहनजङ्ग शाहीले बताउनुभयो । भवन निर्माण समयमै पूरा गरेकामा निर्माण व्यवसायीलाई अस्पताल विकास समितिका अध्यक्ष सिंहले धन्यवाद दिनुभएको छ ।

अस्पतालले जाजरकोट, रुकुम पश्चिम र डोल्पाका सर्वसाधारणलाई सेवा पुग्ने छ ।