काठमाडौँ-ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शाहलाई मंगलबार पक्राउ गरेको हो।
ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा देखिएको थियो। जसमा उहाँको समेत मिलेमतो रहेको भन्दै शाहलाई सिआइबीले पक्राउ गरेको हो।
ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ। पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै यो सङ्ख्या थपिएको हो। एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्।
शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त हुनुहुन्थ्यो ।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया