अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वी पहाडी जिल्लामा खाद्यन्नलगायतका वस्तुको तत्काल व्यवस्था गर्न योगेश भट्टराईको माग

पूर्वी पहाडी जिल्लामा खाद्यन्नलगायतका वस्तुको तत्काल व्यवस्था गर्न योगेश भट्टराईको माग


काठमाडौँ-नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकीय वस्तुहरुको तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरूका लागि अत्यावश्यक वस्तुको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।

उहाँले ताप्लेजुङ जिल्ला राजमार्गबाट सम्पूर्ण रुपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै पहिरोले बगाएका पुलहरुको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानकर्षण गराउनु भयो। उहाँले पुनर्निर्माण र पुनर्वासका लागि पनि सरकारले खासै काम गर्न नसकेकोभन्दै आक्रोश समेत पोख्नुभयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘गत जेठ ३२ गतेदेखि भइरहेको वर्षाले ताप्लेजुङमा ६ जना, पाँचथरमा ६ जना, संखुवासभामा २४ जना गरी जम्मा ३४ जनाको मृत्यु भयो। प्रधानमन्त्रीले यसमा सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। अहिले पनि ताप्लेजुङ जिल्लालाई जोडने ३ वटै राजमार्ग अवरुद्ध छन्। त्यसकारण ताप्लेजुङमा मानवीय संकट उत्पन्न भएको छ। सडक मर्मत गर्ने ठाउँमा जनशक्तिको अभाव छ। जोखिममा परेकाहरूको पुनःस्थापनाका लागि दीर्घकालीन योजना तत्काल बनाउन ध्यानाकर्षण गराउन चाहन्छु।’

सचिव भट्टराईले पहिरोले भत्काएका पुलहरूको निर्माणका लागि आवश्यक जनशक्तिको पनि तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भयो ।