काठमाडौं-काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बुधबार जिल्ला अदालतमा प्रहरीले उनीहरुलाई म्याद थपका लागि लगेको थियो।
यो प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित चार जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ललितानिवास जग्गा प्रकरणमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्की र भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाहलाई पक्राउ गरेको थियो।
ब्यूरोले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार सात जनालाई पक्राउ गरेको थियो जसमध्ये तीन जनालाई कागज गराएर रिहा गरेको छ ।
अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ।
प्रतिक्रिया