काठमाडौँ-काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले निजी विद्यालयका शिक्षकहरूलाई सामुदायिक विद्यालय सरह तलबको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।
सरकारले तोके बमोजिमको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न शिक्षकहरुलाई उहाँले अनुरोध पनि गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत बालेनले लेख्नुभएको छ,’ काठमाडौँ महानगरपालिकामा संस्थागत (निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ। सोही बमोजिम काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौँ महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ। निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।’
प्रतिक्रिया