काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिनु भएको छ।
मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने भन्दै संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिनु भएको हो।
मेयर शाहले भन्नुभएको छ, ‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजी) विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ।’
उहाँले काठमाडौं महानगरपालिका भित्र पर्ने सामुदायिक विद्यालयका शिक्षकहरूले पाउने तलब पनि सार्वजनिक गर्नुभएको छ। त्यसअनुसार नै संस्थागत विद्यालयका शिक्षकहरूलाई पनि तलब दिन उहाँले भन्नुभएको छ।
सामुदायिक विद्यालयले पाउनेजति तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि बताउनु भएको छ।
हेर्नुहोस् मेयर बालेन शाहको सूचना
प्रतिक्रिया