अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सत्ताका लागि कसैलाई उचाल्ने वा पछार्ने खेलमा छैन : प्रदिप ज्ञवाली

एमाले सत्ताका लागि कसैलाई उचाल्ने वा पछार्ने खेलमा छैन : प्रदिप ज्ञवाली


काठमाडौं – नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पछि अर्को विश्वास गुमाउँदै गएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले प्रधानमन्त्री बन्दा दुई जना बाहेक सबै सांसदबाट विश्वासको मत पाउनु भएका प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलालाई प्रयोग गर र फालको नीति र राजनीतिलाई दाउ पेचको खेल बनाउँदा बजेट पास गर्ने बेलासम्म आइपुग्दा निरन्तर विश्वास गुमाउँदै आएको बताउनुभयो । प्रचण्डले तरल राजनीतिमा खेल्न खोज्दा यो नियति भोग्नु परेको ज्ञवालीको भनाइ छ ।

देश अहिले अप्ठेरो अवस्थामा रहेकोले असंलग्न परराष्ट्र नीतिलाई जोगाएर लैजानु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । त्यस्तै देशको अर्थतन्त्र निक्कै अप्ठेरो अवस्थामा रहेकोले त्यसलाई संकटबाट बाहिर ल्याउनु पर्ने स्थिति रहेको उहाँको भनाइ छ । समाजमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने कुरा पनि त्यतिकै चुनौतीपूर्ण रहेको ज्ञवालीले बताउनुभयो ।

अहिले समाजलाई अराजकता तर्फ लैजानको लागि केही शक्ति सलबलाई रहेका ज्ञवालीले बताउनुभयो । समाजलाई अराजकतातर्फ जानबाट जोगाउनको निम्ति पनि विशेष काम नगर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । ‘लोकतन्त्र र स्थायित्वको प्रत्याभूति गराउनु आजका दायित्व रहेको उहाँले प्रष्ट पार्नुभयो । यसमा केन्द्रित हुनुको सट्टा सरकार कसरी हुन्छ सरकार टिकाउने, कसरी हुन्छ दलहरूको बिचमा दुरी बढाउने, कसरी हुन्छ आफ्ना स्वार्थ सिद्ध गर्ने काममा लागि रहेको छ’, उहाँले भन्नुभयो ।

पुष्पकमल दाहाललाई जनताको विश्वास त सुरुदेखि नै नभएको भए पनि अहिले प्राविधिक रूपमा समेत विश्वास गुमाउँदै गएको उहाँले बताउनुभयो । अहिले विभिन्न कारणले सरकारलाई समर्थन गर्दै आएका राजनीतिक दलले पनि सरकारले बिस्तारै विश्वास गुमाउँदै गएको उहाँको भनाइ छ ।

यति हुँदाहुँदै पनि नेकपा एमाले अहिले सत्ताको लडाइँमा नरहेको उहाँले प्रष्ट पार्नुभयो । ‘फेरी सरकार परिवर्तन गर्ने, सत्ताको खेलमा राजनीतिलाई अल्झाउने कुरामा हाम्रो धेरै चासो छैन, उहाँको आफ्नै संकटले अप्ठेरोमा पर्दै जाने, सरकार असफल हुँदै जाने कुरा प्रष्ट छ’, ज्ञवालीले भन्नुभयो ।

नेकपा एमाले राष्ट्रका समस्या कसरी समाधान गर्न सकिन्छ र सबै राजनीतिक शक्तिलाई कसरी मिलाएर लिएर जान सकिन्छ भन्ने कुरामा नै केन्द्रित रहेको ज्ञवालीले बताउनुभयो ।

सरकारले भ्रष्टाचारका केही मुद्दा अघि बढाएको बताउँदै ज्ञवालीले सो काम असल नियतका साथ गर्दा एमालेले सदैव साथ दिने बताउनुभयो । तर केहीलाई कारबाही अघि बढाउने र केहीका घटनामा भने ढाकछोप गर्दै लैजाने कुरा मान्न नसकिने उहाँले प्रष्ट पार्नुभयो । त्यसो गरियो भने त्यो भ्रष्टाचार विरुद्धको लडाइँ नभएर राजनीतिक दाउपेचको लडाइँ हुने उहाँले बताउनुभयो ।

अहिले सुरु भएको बालुवाटारको जग्गा काण्ड एमालेले उठाएको मुद्दा भएको बताउँदै ज्ञवालीले पेसी तोकिएपछि एकाएक सो मुद्दा रोकिएको जानकारी दिनुभयो । त्यति बेला शेरबहादुर देउवा नै प्रधानमन्त्री भएको स्मरण गराउँदै अहिले सरकारले मुद्दाको फाइल अघि बढाएको भए पनि सरकारको नियत माथि शंका रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीको हालै भएको भारत भ्रमण नेपालको हितको नभएको पनि उहाँले बताउनुभयो । नेपाल र नेपालीले चाहना गरेको कुनै पनि कुरा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्राप्त नभएको उहाँले सुनाउनुभयो ।