अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदनको गाउँले खोजिरहेको विकास

मदनको गाउँले खोजिरहेको विकास


ताप्लेजुङ-नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको आज ७२औं जन्मजयन्ती। ७२ वर्षअघि २००९ साल आषाढ १४ गते ताप्लेजुङ जिल्लाको साबिक ढुङ्गेसाँघु गाविस ९ ठोटनेमा उहाँको जन्म भएको हो। पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिला छोराको रूपमा उहाँको जन्म भएको हो। दुर्गम जिल्लाको दुर्गम ठाउँमा जन्मिएका भण्डारी नेपालको राजनीतिक इतिहासमा एक उज्वल नक्षत्रका रुपमा उदाउनु भयो। नेपाली माटो सुहाउदो क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनबादका प्रणेता मदन भण्डारीको गाँउ ढुँगेसाँघुको विकासमा विशेष ध्यान दिन स्थानीयले तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन्। के चाहन्छन मदन जन्मस्थल ढुँगेसाँघुका बासिन्दा पत्रकार सुदीप पोखरेलले सोधीखोजी गर्नुभएको छ:
जननेता मदन भण्डारीको जन्मथलो ताप्लेजुङको मैवाखोला ढुङगेसाँघुका बासिन्दाले मदन भण्डारीको जन्मथलोको विकासमा विशेष ध्यान दिन सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्। ढुङगेसाँघुमा मदन भण्डारीको जन्मथलो भनी चिनिने संरचनागत चिनारीहरु संरक्षणको अभावमा नामेट हुने अवस्थामा पुगेको उनीहरुले गुनासो छ।

मदन भण्डारीको जन्मघर, उहाँ जन्मिएको स्थल ढिकी भएको ठाउँ लगायत निश्चित क्षेत्रलाई व्यवस्थापन गरी स्थायी संरचना निर्माण गरिनुपर्ने उनीहरुको माग छ।

उहाँको जन्मघर ठोटने सम्म पुग्ने बाटो सहज बनाउनुपर्ने ढुंगेसाँघुका तारा घिमिरेको जोड छ। उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य घिमिरे त्यहाँको शैक्षिक र स्वास्थ्य क्षेत्रको बिकासमा ध्यान दिनुपर्ने बताउनुहुन्छ।

ढुङगेसाँघुका बासिन्दा ताप्लेजुङ काठामाडौं सरोकार समाजका अध्यक्ष बल बहादुर तामाङले मदन भण्डारीको जन्मथलोमा प्राबिधिक विद्यालयको स्थापना गर्नुपर्नेमा जोड दिनुहुन्छ। उहाँले मदन भण्डारीको जन्मथलो मैवाखोला क्षेत्र संरक्षण हुनुपर्ने बताउनुभएको छ। त्यस क्षेत्रलाई राजनीतिक शाष्त्र पढ्नेहरुका लागि अध्ययन केन्द्रको रुपमा बिकास गरिनुपर्ने उहाँको भनाई छ।

मदन भण्डारीले पनि छोटो समय अध्यन गर्नुभएको मैवाखोला उच्च माविका शिक्षक झनलाल तेम्बे मदन भण्डारीको जन्मघर जीर्णोदार गर्न माग गर्नुहुन्छ । साथमा शैक्षिक क्षेत्रको सुधार,स्वास्थ्य क्षेत्रको स्तरोउन्नतीमा प्राथमिकता दिनुपर्ने उहाँको धारणा छ। असार २ गते अविरल वर्षासँगै आएको बाढी पहीरोका कारण सो स्थानमा यातायातको सम्पर्क टुटेको बताउँदै उहाँले बाढीले बगाएका पुलहरु तत्काल निर्माणमा ध्यान दिन आग्रह गर्नुभएको छ।

संखुवासभाको बसन्तपुर–गुफा हुँदै ताप्लेजुङको दोभान जोड्ने मदन भण्डारी राजमार्ग तीन दसकमा पनि पूरा हुन सकेको छैन। यो मार्ग निर्माणले पूर्णता पाउनुपर्ने ढुङगेसाँघु जन्मथलो भएका पत्रकार लिलाराज भट्टराईको माग छ। संघीय सरकारले यो बाटोलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ। मदनजन्म स्थल ठोटनेमा मदन पार्क निर्माण गरी उहाँको शालिक राखिनुपर्ने उहाँको माग छ।
ढुङगेसाँघुका स्थानीयवासी शिक्षक खेम भट्टराई जननेता मदन भण्डारीको जन्मथलोलाई चिनाउन त्यहाँ पार्क निर्माण गरिनुपर्ने बताउनुहुन्छ। मदन जन्मथलोलाई समान बिचार बोक्ने अनुयायीहरुका लागि तीर्थस्थल हुने गरी ढुँगेसाँघुलाई बिकास गर्न सकिने उहाँको धारणा छ।