अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वृक्षारोपणसहित दीप–प्रज्ज्वल गर्दै सम्पन्न भयो मदन जयन्ती

वृक्षारोपणसहित दीप–प्रज्ज्वल गर्दै सम्पन्न भयो मदन जयन्ती


लेटाङ–मोरङको पूर्वोत्तर लेटाङमा जननेता मदनकुमार भण्डारीको ७२ औँ जन्मजयन्ती विभिन्न विषयगत रचनात्मक कार्यक्रममार्फत यसको भव्य आयोजनसँगै सम्पन्न भएको छ । 

नगरको वडा नं. ५, वसन्त सामुदायिक वनसँग सहकार्य गर्दै विभिन्न प्रजातिका १८ सयभन्दा बढी बिरुवा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ भने वडा नं. ९, मदनचौकको मध्यभागमा अवस्थित जननेताको अर्धकदको शालिकमाथि माल्यार्पणसहित सन्ध्याकालीन दीप–प्रज्ज्वलमार्फत उज्यालो बिचार प्रवाह गर्ने महान नेता मदनकुमार भण्डारी मात्र हुनसकेको सन्देश दिन खोजिएको छ । 

सम्पन्न दुबै कार्यक्रमलाई नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य युवराज बास्कोटाले नेपाली राजनीतिमा जननेता मदनकुमार भण्डारी र उहाँको बहुआयमिक उपस्थितिबारे प्रशिक्षित पार्नुहुँदै छिन्नभिन्न अवस्थामा रहेको नेपाली कम्युनिस्ट आन्दोलनलाई बिचार निर्माण र कार्यक्रम निरुपणमार्फत एक ठाउँमा उभ्याउन सक्नु ठूलो उपलब्धी रहेको उजागर गर्नुभयो । 

सम्बोधनक्रममा केन्द्रीय सदस्य बास्कोटाले नेपाली समाजको विशेषताअनुरुप सशक्त ढंगले संगठित कम्युनिस्ट आन्दोलन निर्माण गर्नु, समाजको समुन्नत चेतना र चरित्रसुहाउँदो अन्तरपार्टी लोकतान्त्रिक अभ्यास अवलम्बन गर्नु अर्को ठूलो र ऐतिहासिक महत्त्वको विषय रहेको जनाउँदै मदन भण्डारीको राजनीतिक–बैचारिक दिशानिर्देशमा हुर्किएको कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाउन केही समययता ठूलो चक्रव्युह प्रयोग हुने गरेको दर्शाउनुभयो । 

उहाँले नेपाली कम्युनिस्ट आन्दोलनको नेता भारतीय कम्युनिस्ट चारु मजुम्दार हुने कि चीनियाँ क्रान्तिका नायक माओ त्से तुङजस्तो हुने भनेर आगो ओकल्ने बहस चलेको बेला नेपालको नेता न मजुम्दार जस्तो हुन्छ, न माओ त्से तुङजस्तो ! यो त नेपाली जनतामाझ जहिल्यै जतिखेर पनि अनुमोदन हुन सक्ने नेपाली नेता हुनुपर्छ भनेर रणनीतिक मूल्यमान्यता निर्देशित सैद्धान्तिक कार्यक्रम जनताको बहुदलीय जनवाद प्रतिपादन भएको खुलासा गर्नुभयो ।  

१८ सय हाराहारी संख्यामा वडा नं. ५ मा रोपिएका वृक्षहरूमा अमला ४ सय, हर्रो १ सय, बर्रो २ सय, अमिलो ५०, चिउरी ७५, काजु ५, अम्बक ५०, रिठ्ठा २ सय, तेजपत्ता ५ सय, मलेसियन सखुवा ५०, लप्सी १ सय, नौनी ५० र अनार ५० लगायत स्थानीय बजारमा उपलब्ध सयौँ वृक्षहरू सामेल गरिएको बसन्त सामुदायिक वन अध्यक्ष निलम राईले जानकारी दिनुभयो । 

सामुदायिक वनको प्राविधिक सहयोग रहेको यो जमिनलाई जनावरको अतिक्रमबाट बचाउन अहिले नै चौतर्फी ताराजाली सहितको घेराबारा गरिएको छ । समयसमयमा औषधी, गोडमेल र हेरचाह हुने सचिव भीमा तामाङ बताउनुहुन्छ । 

वनौषधिसहितको बहुगुणी वृक्ष मानिने अमलाको बिरुवालाई मौकामा पुग्नुभएका नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य युवराज बास्कोटा, प्रदेश कमिटी सचिवालय सदस्य एवम् पालिका प्रमुख भूपेन्द्र लावती, उपप्रमुख कृष्णकुमारी पोखरेल निरौला, नगर अध्यक्ष कृष्णप्रसाद लुइँटेल, वन अध्यक्ष निलम राईले संयुक्तमा रोप्दै वृक्षारोपण कार्यक्रमको आरम्भ गर्नुभएको थियो । 

स्मरण रहोस्– नेकपा (एमाले) को नेतृत्व रहेको लेटाङ नगरपालिकाले भरखरै अघिमात्र सम्पन्न नगरसभाबाट नगरस्थित पाखापखेरामा २० हजार संख्यामा चिउरी लगाउने र स्थानीय उत्पादनमार्फत आम्दानीको आधार सिर्जना गर्ने निर्णय लिइसकेको छ । मेयर गोल्ड कपको नाउँमा युवा लक्षित फुटबल खेल नगरमा जारी छ ।

पार्टी जिल्ला सचिवालय सदस्य डिल्लीबहादुर विश्वकर्मा, जिल्ला सदस्य नन्दलाल धिमाल, किसान नेता नगेन्द्रप्रसाद घिमिरे, स्थानीय नेता सोमनाथ निरौला, यमनाथ पोखरेल, वडाध्यक्ष भूमबहादुर राई, सूर्य मगर, मनकुमारी राई, रामकुमार ग्यावा, नारायणप्रसाद बजगाईँ, बद्री निरौलालगायत नेतृत्वको सक्रिय सहभागितामा रहेको दुबै कार्यक्रममा पार्टी र पार्टी सम्बद्ध जनसंगठनको पंक्ति आशलाग्दो थियो ।

नगरपालिका कमिटी अध्यक्ष कृष्णप्रसाद लुइँटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको दुबै सत्रमा अनेमसंघ, राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, मुक्ति समाज नेपालसम्बद्ध दर्जनौँ नेता–कार्यकर्ता र सयौँ स्थानीय शुभचिन्तक जमघट रहनुभएको कार्यक्रमको सञ्चालन नगरपालिका कमिटी सचिव जीतबहादुर तामाङले गर्नुभएको थियो ।