अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योगी व्यवसायीको समस्या समाधान गर्न जिम्मेवार भूमिका खेल्छौँ : अध्यक्ष ओली

उद्योगी व्यवसायीको समस्या समाधान गर्न जिम्मेवार भूमिका खेल्छौँ : अध्यक्ष ओली


चितवन-पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगी व्यवसायीको समस्या समाधान गर्न पार्टीले जिम्मेवार भूमिका खेल्ने बताउनुभएको छ । 

असार १५ को राष्ट्रिय धान दिवसका अवसरमा चितवन  युवा उद्यमी मञ्चले गरेको  अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले उद्योगी व्यवसायीहरु संकटमा पर्दै गएको भन्दै एमाले टुलुटुलु हेरेर मात्रै नबस्ने बताउनुभयो । 

अध्यक्ष ओलीले सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य व्यवसायीहरु संकटमा परेको समेत बताउनुभयो । उहाँले करका दरहरु हेरफेर गराउन सफल व्यवसायीहरु बाहेक अरु आर्थिक मन्दीको चपेटामा पर्न थालेको बताउनुभयो । 

उहाँले भन्नुभयो,  ‘कोरोनाको महामारीमासमेत हामीले अर्थतन्त्रलाई बचाएका थियौं, संकट आउन दिएका थिएनौं, बैंकमा तरलताको अभाव थिएन, ब्याजदर बढ्न दिएनौं, आपूर्तीमा खास समस्या थिएन, ठूला पूर्वाधारहरुको काम रोकिएन , तर अहिले सरकारको गलत नीति छ, अनुशासन भएन । अहिलेको सरकारको तस्वीर देखेपछि पुग्छ, यो समस्या कहिले टुंगिएला भनेर ।’

अध्यक्ष ओलीले बैंकहरूको गलत नीति र रवैयाले पनि उद्योगीहरुलाई संकटमा परेको बताउनुभयो ।  ठूला हाइड्रोपावर, राष्ट्रिय राजमार्ग विस्तार, करिडोर र औद्योगिक क्षेत्र स्थापना, पालिकामा अस्पतालहरुको काम आफू सरकारमा हुँदा थालेको दाबी गर्दै उहाँले त्यसपछिका सरकारले कुनै ठोस नयाँ पूर्वाधार विकासमा काम गर्न नसकेको आरोप लगाउनुभयो ।