अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जननेता भण्डारीको ७२औं जन्म-जयन्तीमा विचार गोष्ठी सम्पन्न

जननेता भण्डारीको ७२औं जन्म-जयन्तीमा विचार गोष्ठी सम्पन्न


ललितपुर-जननेता मदन भण्डारीको ७२औं जन्म-जयन्तीको अवसरमा विचार गोष्ठी कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ।

नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले मदन भण्डारीको जन्म-जयन्ती अवसरमा २०८० असार १५ गते बृहत् विचार गोष्ठी भव्य रुपमा नेपका एमाले पार्टी कार्यालय च्यास, ललितपुरमा सम्पन्न गरेको हो।    

नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले “जनताको वहुदलीय जनवाद र राज्यको रुपान्तरण” तथा महासंघका ईन्चार्ज गोकुल घर्तीमगरले “नेपाली कम्युनिष्ट आन्दोलन र आदिवासी जनजाति आन्दोलनबीचको अन्तर-सम्बन्ध” विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रहरु उपर त्रिभुवन विश्वविद्यालय, मानवशास्त्रसंकायका प्राध्यापक एवं आदिवासी जनजाति अभियन्ता डा. मुक्ता सिङ लामा तामाङले टिप्पणी गर्नुभएको थियो।

उपाध्यक्ष तथा प्रमुख अतिथि नेम्बाङले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको यो अन्तरक्रियाले सिंगो आदिवासी जनजाति आन्दोलनलाई धारिलो बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभएको थियो।

उहाँले भन्नुभयो, ‘आदिवासी जनजाति अधिकारको सवालमा आजसम्म जे-जति उपलब्धिहरु हासिल भएका छन्, ती सबै उपलब्धिहरुमा नेकपा एमालेको मुख्य योगदान रहेको छ। हामीले यो यथार्थबारे आदिवासी जनजातिहरुलाई भन्न र बुझाउन नसक्दा अहिले पहिचानको नाममा एमालेमाथि प्रहार गर्ने काम भइरहेको छ।’

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं केन्द्रीय जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल समेतको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रम महासंघका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा महासचिव पेम्बा गुरुङ भोटेको उद्घोषणमा सम्पन्न भएको कुरा महासंघका प्रचार विभाग प्रमुख देवराज राईले जानकारी दिनु भयो ।