अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित


काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ।

बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो । विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गर्नुभएको थियो।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि संशोधनको प्रस्ताव गर्दै सांसद सुवालले एनसेललाई पुँजीगत लाभकरमा छुट दिएकोबारे संसदमा प्रश्न उठाउनुभयो । सरकारले विभिन्न निजी कम्पनीबाट वर्षौसम्म कर उठाउन नसकेको आरोप उहाँको आरोप छ । सांसद सुवालले हेलो नेपाल मुक्तिश्री’ र ‘सिनर्जी नेपाल’बाट वर्षौसम्म कर उठाउन नसकेको भन्दैसरकारको ध्यानआर्कषण गराउनुभयो ।

सांसद सुमना श्रेष्ठले आर्थिक विधेयक, २०८० माथि संशोधन प्रस्तुत गर्दै भन्सारमा लाग्ने करमाथि प्रश्न उठाउनुभयो । उहाँले विद्युतीय धुम्रपानका वस्तुमा भन्सार शुल्क लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “इलेक्ट्रोनिक चुरोट, व्यक्तिगत विद्युतीय धुम्रपानका वस्तुमा भन्सार कर लगाइएको छैन । जबकी बालबालिकाले प्रयोग गर्ने पेन्सिल, सार्पनरमा १० प्रतिशत भन्सार कर लगाइएको छ । ”

उहाँले दैनिक खाद्यान्नमा भ्याट लगाउन नहुने धारणा राख्नुभयो । यस्तै स्वदेशी उद्योग र उत्पादनका लागि  कच्चापदार्थ आयातमा सहज हुनेगरी भन्सार शुल्क निर्धारण हुनुपर्नेमा ध्यानआर्कषण गराउनुभयो । उहाँले किसानको उत्पादनलाई उचित मूल्य उपलब्ध गराउनेतर्फ समेत ध्यानआर्कषण गराउनुभयो । सांसद शिशिर खनालले संशोधनको प्रस्ताव राख्दै आन्तरिक उत्पादनमा वृद्धि र पर्यटक भित्र्याउने सरकारको नीति विपरीत हवाई टिकटमा भ्याट लगाइएको बताउनुभयो ।