अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्‍यो : प्रमुख सचेतक नेपाली 

बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्‍यो : प्रमुख सचेतक नेपाली 


गण्डकी–नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताउनुभएको छ । 

प्रदेशसभामा जारी आगामी आव ०८०/०८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उहाँले बजेट निर्माणमा प्रतिपक्षी दलप्रति राजनीतिक पूर्वाग्रह साँधिएको टिप्पणी गर्नुभयो । 

“बजेटमा सत्तापक्षको एकाधिकार झल्किएको छ, योजनाको छनोट र बजेट विनियोजनका हिसाबले यो आग्रही छ, असन्तुलित छ”, उहाँले भन्नुभयो, “आवश्यकताका आधारमा होइन, पहुँचका आधारमा बजेट आएको छ ।”

मन्त्रीहरुले आफू निकटका प्रदेशसभा सदस्य र कार्यकर्तालाई मनोमानी ढङ्गले बजेट बाँडेको उहाँले आरोप लगाउनुभयो । “पालिकाको अध्यक्षले माग गरेको योजना परेको छैन, तर कार्यकर्ताको खल्तीबाट आउँको योजना जस्ताको तस्तै परेको छ”, नेपालीले प्रश्न गर्नुभयो, “योजना छनोटको मापदण्ड के हो ?”

उहाँले लक्ष्यहीन बजेटको कुनै परिणाम नदिने धारणा राख्नुभयो । विगतका सरकारले टुक्रे योजनामा बजेट बाँडेको आरोप लाग्ने गरे पनि अहिलेको सरकार पनि त्यसबाट अछुतो रहन नसकेको उहाँको भनाइ थियो । भौगोलिक हिसाबले पनि बजेटको वितरण असन्तुलित रहेको नेपालीले बताउनुभयो । 

सत्तापक्षका प्रदेशसभा सभा सदस्य र कार्यकर्तालाई खुसी पार्ने हेतुले आएको बजेटबाट समग्र प्रदेशको आवश्यकता र चुनौतीको सम्बोधन नहुने उहाँले उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य बिन्दु पौडेलले पूर्वाधार विकास कार्यक्रममा नवलपुर जिल्लालाई विभेद गरिएको बताउनुभयो । उहाँले पूर्वाधार मन्त्रालयले पनि टुक्रे योजनामा बजेट बाँडफाँट गरेको उल्लेख गर्नुभयो । 

प्रदेशसभा सदस्य कुसुम बुढाले भौगोलिक अवस्थिति, जनसाङ्ख्यिक स्थिति आदिका आधारमा समानुपातिक तवरले बजेट विनियोजन भएको बताउनुभयो । प्रदेशसभा सदस्य महेश भट्टराईले पूर्वाधार क्षेत्रलक्षित बजेटले प्रदेशको विकासलाई गति दिने धारणा राख्नुभयो । सडक, पुललगायत योजनाले जनअपेक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले पहुँच पुग्नेको मात्र योजना छनोटमा परेको बताउनुभयो । 

बजेटमा स्रोत स्पष्ट नभएको उहाँको भनाइ थियो । प्रदेशसभा सदस्य सुधिरकुमार पौडेल, रोशनबहादुर गाहा थापालगायतले छलफलमा भाग लिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।