अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामपन्थी एकताको कुरा ‘काशी जानु कुती’को बाटो : महासचिव  पोखरेल

वामपन्थी एकताको कुरा ‘काशी जानु कुती’को बाटो : महासचिव  पोखरेल


काठमाडौँ-नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालत धाउनेहरु नै नेकपा ब्युँताउने चर्चामा लागेको बताउनुभएको छ ।  

महासचिव पोखरेलले आम चुनावबाट प्राप्त जनादेश अनुरुप नयाँ गठबन्धनको सरकार बनाउँदा गरेको सहमति तोडेर कांग्रेसलाई राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरुले वामपन्थी एकताको कुरा गरिरहेको बताउनुभएको हो ।  

‘यतिवेला नेकपा ब्युँताउने कुराको चर्चा चलाइएको छ । विगतमा नेकपा नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म धाउनेहरु नै यसमा सक्रिय देखिन्छन्’, महासचिव पोखरेलले फेसबुकमा लेख्नुभएको छ, ‘यतिसम्मकी आम चुनावबाट प्राप्त जनादेश अनुरुप नयाँ गठबन्धन सरकार बनाउँदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरुनै वामपन्थी एकताको कुरा गर्न थालेका छन् ।’ 

महासचिव पोखरेलले नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा९एमाले०का विरुद्धमा घेराबन्दी गर्नेहरुले नेकपा ब्युँताउने चर्चा चलाउनु वा वामपन्थी एकताको कुरा गर्नु ’काशी जानु कुतीको बाटो’ जस्तै भएको बताउनुभयो ।  उहाँले नेकपा९एमाले० यस्ता बेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापप्रति सचेत रहेको बताउनुभयो ।

‘अव नेपालको राजनीतिमा विचारका आधारमा राजनीतिक ध्रु्विकरण आवश्यक छ । विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ’, उहाँले भन्नुभयो, ‘त्यसको लागि  प्रमुख दलहरुलाई नीति, कार्यक्रम र योजनासहित सुदृढ गर्नु आवश्यक छ ।’ 

महासचिव पोखरेलले ध्रुवीकरण विचारका आधारमा हुनुपर्ने पनि बताउनुभयो ।  ‘तर त्यो असफल भइसकेको नेकपाको पुनस्थापनाको बाटोबाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुवीकरणको बाटोबाट मात्र सम्भव हुन्छ । तसर्थ अव नेताहरुको टाउका जोडेर होइन भविष्य भएका युवाहरुको मन जोडेर आन्दोलनलाई सुदृढ गर्ने बाटोमा अघि बढ्न सक्नुपर्दछ’, उहाँको भनाइ छ । 

महासचिव पोखरेलले अहिले जस्तो जनमत गुमाएकाहरुले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्य गर्नका लागि बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्नसक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नुपर्ने पनि बताउनुभयो ।  

‘नेकपा९एमाले० त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक योजनाका साथै मनोवैज्ञानिकरुपमा नयाँ ढंगले अघि बढ्न प्रतिबद्ध छ’, पोखरेलले भन्नुभएको छ,‘अव हरेकले महसुस गर्ने वेला भयो– विकास र समृद्धिका लागि गठबन्धन नामको अस्थिरता र अलमलको बाटोमा होइन, बलियो राष्ट्रिय शक्ति निर्माणको उज्यालो बाटो देशका लागि अपरिहार्य छ ।’