महोत्तरी-महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा-१ बसबिट्टीमा मंगलवार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् ।
उनको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिनुभयो । कन्चट नजिक र दाहिने कुम माथिको भागमा गोली लागेका यादवलाई अस्पताल भर्ना गरिएको छ। उनीमाथि गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । आक्रोशित स्थानीयले मण्डललाई पनि कुटपिट गरेका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराइ थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीलिप गिरीले बताउनु भयो ।
श्रवण यादवलाई दुई वटा गोली लागेको र अहिले उपचार चलिरहेको चिकित्सक सौरभ कर्णले बताउनु भयो । उहाँले गोलीले रगत नलीलाई नछोएकाले बढी रक्तश्राव हुन नपाउँदा बिरामी खतरामुक्त रहेको बतउनु भयो । त्यस्तै गोली लागेका यादवका आफन्त सुदीपकुमार यादवले कुकुरका लागि झगडा हुँदा गोली चलाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पेसेन्टलाई गोली लागेको भनेर ल्याइएको थियो, दाहिने तिरको घाँटीको माथिबाट गोली लागेर आँखा भन्दा ठिक तलबाट निस्किएको थियो । अर्को छातीमा लागेको थियो । रगत नली बँचेकाले उहाँलाई धेरै जोखिम भएन ।’
घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, ३ थान गोलीको खोका बरामद गरेको छ ।





प्रतिक्रिया