अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशमा सडक दुर्घटना बढ्दो

कोशी प्रदेशमा सडक दुर्घटना बढ्दो


कोशी-कोशी प्रदेशका विभिन्न स्थानमा पछिल्ला चार वर्षको अवधिमा ११ हजार ६६५ सवारी साधन दुर्घटनामा परेका छन् । त्यसमा एक हजार सात सय एकको मृत्यु भएको तथ्याङ्क रहेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार गएको चार वर्ष अवधिमा वार्षिक ८० प्रतिशत सवारी दुर्घटना भएका छन् । त्यसमा २६ दशमलव ६४ प्रतिशत मानिसको मृत्युदर बढेर गएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै कोशी प्रदेशमा तीन हजार आठ सय २० सवारी साधन दुर्घटना हुँदा ५३१ जनाको मृत्यु भएको र एक हजार एक सय १४ जना गम्भीर घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

अघिल्लो आव २०७७/७८ मा प्रदेशभित्र तीन हजार एक सय ३१ सवारी साधन दुर्घटनामा परि चार सय ४४ जनाको मृत्यु भएको थियो । त्यसैगरी २०७६/७७ मा प्रदेशभित्र एक हजार तीन सय २२ सवारी साधान दुर्घटना भएका थिए । त्यसमा तीन सय ३२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यी तथ्याङ्कलाई आधार मान्दा वार्षिक रुपमा दुर्घटना बढेको देखिएको छ।

समग्र दुर्घटनामध्ये ५३ प्रतिशत तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा १० प्रतिशत, चालकको लापरबाहीले १६ प्रतिशत, चालक अनुमतिपत्र नभएकाले सवारी कुदाउँदा सात प्रतिशत र सडक प्रयोगकर्ताले असावधानीपूर्वक सडकको प्रयोग गर्नाले १२ प्रतिशत सडक दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक महतो बताउनुहुन्छ।

कोशी प्रदेशमा मङ्गलबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ। मादक पदार्थ सेवन गरी सवारी सधान कुदाउन नदिन कडाइपूर्वक लागू गर्ने, सडक लेनको अनुशासन, सिटी रिक्साहरुको व्यवस्थापन, टाइम कार्ड लागू, गति नियन्त्रणका साथै राजमार्गमा कुद्ने सवारी साधन सार्वजनिक बस रोक्न एक सय नौ पकेट कार्यक्रम लगायतका कार्यमा ट्राफिक प्रहरी सक्रियताका साथ लागिपरेको महतोले बताउनुभयो।

उक्त प्रदेशभित्र हाल चार सय ७४ ट्राफिक प्रहरी रहेको र भएको जनशक्तिलाई स्रोत साधनको अभावका बीच व्यवस्थापन गर्नुपरेको उहाँले बताउनुभयो। पर्याप्त श्रोतसाधन हुने हो भने ट्राफिक व्यवस्थापन सहज हुने उहाँले बताउनुभयो।