सल्यान-सल्यानमा गुडिरहेको यात्रुबाहक बसमा करेन्ट प्रवाह हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ।
राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुदा करेन्ट प्रवाह भएको थियो।
करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउंपालिका-४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उहाँका ४० वर्षीय छोरा टोपलाल डाँगी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो।
प्रवक्ता श्रेष्ठका अनुसार बस धनी सल्यान छत्रेश्री गाउपालिका-६ का अन्दाजी ३५ वर्षीय महेन्द्र ओली गम्भीर घाइते हुनुभएको छ।
गम्भीर घाइते ओलीलाई उपचारका लागि दाङतर्फ पठाइएको घटनास्थलमा रहनुभएका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो।
दाङबाट सल्यान खौलातर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह भएको बताइएको छ ।
सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी घटनास्थलमा पुग्नुभएको छ भने प्रहरी पनि घटनास्थल पुगेर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी सल्यान जिल्लाका प्रहरी प्रमुख दामोदर केसीले दिनुभयो।





प्रतिक्रिया