काठमाडौँ-काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारणको जानकारी पठाउन शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ ।
“कक्षा ११ मा भर्ना गरिने विद्यार्थीलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको छ,” महानगरले भनेको छ, “काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या असार सान्तभित्र पठाउनुहुन सूचित गरिन्छ ।”
यस्तै काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्ना गर्दा कम्तीमा १५ दिनको समयावधी राख्न शिक्षण संस्थालाई निर्देशन दिएको छ । छोटो समयमा भर्ना लिँदा टाढाबाट आउने विद्यार्थीले आवेदन दिन नपाउने भन्दै महानगरपालिकाले महानगरभित्र रहेका शिक्षण संस्थालाई यस्तो निर्देशन दिएको हो । “विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक–फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ,” महानगरको सार्वजनिक सूचनामा भनिएको छ,“यसबाट देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थी आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।”
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई महानगरको आग्रह छ ।
प्रतिक्रिया