अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपमहासचिव रिमालको प्रश्न–क्षणिक स्वार्थ पूरा गर्न संविधान किन भत्काएको ?

उपमहासचिव रिमालको प्रश्न–क्षणिक स्वार्थ पूरा गर्न संविधान किन भत्काएको ?


काठमाडौँ–नेकपा एमालेका उपमहासचिव विष्णु रिमाले क्षणिक स्वार्थ पूरा गर्न संविधान किन भत्काएको भनी सत्ता गठबन्धनलाई प्रश्न गर्नुभएको छ । 

हिजो कोही प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न गठबन्धनले सभामुखको समेत हस्ताक्षर गरेको थियो । उक्त विषयमा गठबन्धनकै नेताहरूले विरोध गरेका छन् । 

उपमहासचिव रिमालले आज सामाजिक सञ्जालमा लेख्दै पायक परेको जे पनि गरे हुने भए सभामुखलाई पार्टीको जिम्मेवारीबाट किन बिदा गरिन्छ भनी प्रश्न गर्नुभएको हो । 

‘प्रणाली भत्कने यसै गरी हो ! सत्तालाई आँखा अगाडि राखेर “हुने–नहुने” गर्नु भनेको कुशासनको रुखमा मलजल गर्नु हो । कुशासनलाई बढवा दिनु भनेको सुशासनलाई ‘बाइ–बाइ’ भन्नु हो । कोशी प्रदेशमा कसको मुख्यमन्त्री ? स्पष्ट छ-अंकगणितले जसलाई साथ दिन्छ त्यसैको । तर सवाल यो हैन, सवाल प्रक्रिया, प्रचलन र संविधानले कोरेको सीमा ‘नाघ्ने कि ननाघ्ने’ भन्ने मात्र हो । सबैलाई थाहा छ-कुनै न कुनै दलको नेता भएकै कारण अमुक माननीय सभामुख बन्नु भयो’,उहाँले लेख्नुभएको छ,’सभामुख भएपछि दलसँगको आबद्धता छाड्नु पर्छ, छाड्नु भयो । पायक परेको जे पनि गरे हुने भए सभामुखलाई पार्टीको जिम्मेवारीबाट किन बिदा गरिन्छ ? त्यसको कारण छ भन्ने हो भने क्षणिक स्वार्थ पूरा गर्न संविधान किन भत्काएको ?

उपमहासचिव रिमालले सत्ता गठबन्धनका नेताहरूलाई  संविधानको विज्ञापनकर्ताको संज्ञा दिनुभएको छ । 

यो प्रश्न सबैभन्दा पहिले सत्ता गठबन्धनमा रहेका, थपिने सम्भावना भएका र आफूलाई “संविधानको अब्बल रक्षक हुँ” भन्ने ‘विज्ञापनकर्ताहरू’लाई हो । त्यसपछि ती दलभित्र रहेका आफूलाई “मोरल अथोरिटी” र “युथ आइकन” मान्नेहरुलाई पनि हो । बुझ्नु भएकै होला–संसदीय राजनीतिमा कहिले कहिले सिद्धान्तभन्दा बढी अंकगणितको खेल हाबी हुन्छ’, उहाँले लेख्नुभएको छ,’कहिले कसको हात माथि पर्ला कहिले कसको ! अहिले विपक्षीलाई त ‘इग्नोर’ गरेरै काम चलाउनु होला, जबाफदेहिताबाट भाग्नु होला । तर आफ्नै मनलाई चाहिँ के जवाफ दिनुहुन्छ ?  सोच्नुस् मित्रहरु- प्रणाली भत्काउन अरु केही गर्नै पर्दैन, भत्किने र ध्वस्त हुने यसैगरी हो ।’