अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतका लागि कन्फर्टेबल सरकार दिल्लीबाटै बनेको हो त ? : बिमला घिमिरे

भारतका लागि कन्फर्टेबल सरकार दिल्लीबाटै बनेको हो त ? : बिमला घिमिरे


काठमाडौँ- राष्ट्रिसभा बैठकमा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य बिमला घिमिरेले नेपालको सार्वभौम संसदले प्रधानमन्त्री बनाउने कि दिल्लीलाई खुसी पारेर बनाउने हो भन्दै प्रश्न गर्नु भएको छ।

प्रधानमन्त्री प्रचण्डको अभिब्यक्तिलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै सरकार दिल्लीबाटै बनेको त हैन भन्दै उहाँले प्रश्न गर्नुभयो ।

उहाँले गत असार १८ गते भारतीय मुलका नेपाली नागरिक प्रितम सिंहको पुस्तक विमोचनको क्रममा मलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली पनि जानुभयो भन्ने प्रधानमन्त्री प्रचण्डको भनाईको नेपालमा धेरै विरोध भएको बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘यसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वाभिमानको शीर झुकेको छ। यो भनाईले हाम्रो सम्मानित संसद र सांसदहरुको अपमान मात्र भएको छैन, संविधानको धारा ५ मा भएको व्यवस्था समेत आकर्षण भएको छ। सम्माननीय अध्यक्षज्यूमार्फत म सोध्न चाहन्छु- नेपालको प्रधानमन्त्री जनताद्वारा चुनिएको हो। प्रधानमन्त्री सार्वभौम संसदले बनाउने हो कि दिल्लीलाई खुसी बनाएर पाउने हो ? कतै भारतका लागि कन्फर्टेबल सरकार दिल्लीबाटै बनेको हो त ? यो प्रश्न गम्भीर रुपले नेपाली जनताले उठाइरहेका छन् । हामीले कुनै आग्रह पूर्वाग्रह र कुण्ठाले यो सदन अवरुद्ध गरिरहेका छैनौँ, हामी त नेपालको सार्भभौमिकता र संसदको गरिमालाई रक्षा गर्ने दायित्व निर्वाह गरिरहेका छौँ ।’

उहाँले कहिल्यै कसैको उपनिवेश नभएको नेपालमा प्रधानमन्त्रीको आत्मसर्मपणवादी अभिब्यक्तिले एमालेको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।

घिमिरेले प्रधानमन्त्रीले नैतिक अधिकार गुमाएको बताउँदै तत्काल राजीनामा दिनुपर्ने माग गर्नु भयो । प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसदको कार्यसूची अघि नबढाउन समेत उहाँले आग्रह गर्नु भयो।