अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेशमा अर्थमन्त्रीले भ्रष्टाचार गरेको भन्दै एमालेद्वारा संसद्‍ अवरुद्ध

मधेश प्रदेशमा अर्थमन्त्रीले भ्रष्टाचार गरेको भन्दै एमालेद्वारा संसद्‍ अवरुद्ध


धनुषा-मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै नेकपा एमालेका प्रदेश सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

प्रदेशसभा बैठक बस्नासाथ एमालेका सांसद लखन दासले स्थानीय तहमा पठाएको ससर्त अनुदान र आर्थिक वर्षको अन्तिममा विभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गरी सर्लाहीमा मौत्र योजना पठाएको विषयमा मुख्यमन्त्री सरोज कुमार यादवले जवाफ दिनुपर्ने माग गरेका थिए ।

नेकपा एमालेका प्रमुख सचेतक लखनदास तत्माले अर्थमन्त्री यादवले नीतिगत भ्रष्टाचार गरेको समेत आरोप लगाउनु भयो।

‘अर्थमन्त्रीले ठूलो अन्याय गर्नुभएको छ, उहाँले नीतिगत भ्रष्टाचार गर्नुभएको छ। त्यसको हामी घोर भत्र्सना गर्दछौं। के कति कारणले बजेट सेसन अन्त्य भइसकेपछि के कारणले रकमान्तर गर्नुभयो, त्यसको हामीलाई तुरुन्त जवाफ चाहियो,’ प्रदेशसभा बैठक अवरुद्ध गर्दै उहाँले भन्नुभयो ।

प्रदेश सरकारले बजेट ल्याएको २३ औँ दिनमा प्रदेशसभा बैठक बस्न लागेको हो । शनिबारको बैठकमा अर्थमन्त्री संजयकुमार यादवले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र त्यसपछि पुनः अर्थमन्त्री यादवले प्रदेश सरकारको छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रदेशसभा संसद सचिवालयका अनुसार अर्थमन्त्री यादवले विनियोजन विधेयक, २०८० सभामा प्रस्तुत गर्ने र मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसलाई पारित गर्ने कार्यसूची रहेको छ ।