अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री नबनाएपछि कोशीका माओवादी सांसद राजीनामाको तयारीमा

मन्त्री नबनाएपछि कोशीका माओवादी सांसद राजीनामाको तयारीमा


विराटनगर- मन्त्री नबनाएपछि कोशी प्रदेशका माओवादी सासंद नारायण बुर्जा मगरले राजीनामा दिने तयारी गर्नु भएको छ।

उदयपुर क्षेत्र-२ प्रदेश सभा (क)का सांसद बुर्जा मगरले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले पदबाट राजीनामा दिने मनस्थिति बनाएको बताउनु भएको हो ।

पार्टीमा दुई-दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मूल्यांकन गर्न नसकेको भन्दै उहाँले कोशी प्रदेश सरकार गठनप्रति  विमति जनाउनु भएको छ ।

नाम नआएपछि उहाँले सचिवालयमार्फत असन्तुष्टि व्यक्त गर्नु भएको छ। उहाँले भन्नुभयो, ‘म र मेरो मतदाता माथि बारम्बार अन्याय भयो। दुई-दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मूल्याङकन गर्न सकेन, कोशी प्रदेश सरकार गठन प्रति मेरो विमति छ। यसै कुरालाई मध्येनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजिनामा दिने मनसाय बनाइ सकेको छु। धन्यवाद !’

माओवादी निकट एक सांसदका अनुसार हिजो (शनिबार) बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारयाण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर, आज माओवादीले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि उहाँले साे कुरा बताउनु भएको हो।

माओवादी एक नेताहरुका अनुसार आज बिहानसम्म पनि माओवादीबाट मन्त्री हुनेको नाममा बुर्जाको नाम सामेल थियो। तर, सपथ लिने बेलामा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ रहेका जीवन आचार्य र राजेन्द्र कार्कीको नाम परेपछि माओवादीमा असन्तुष्टि चुलिएको छ।  

नेकपा माओवादीमा दोहोर्‍याएर चुनाव जित्नेमा संसदीय दलका नेता इन्द्र आङ्बो र बुर्जा मगर मात्रै हुन् । उदयपुरका बुर्जा प्रदेश सभामा दोस्रोपटक निर्वाचित सांसद हुन्।

गत निर्वाचनमा उहाँ ८ हजार १०५ मत ल्याएर विजयी हुनु भएको थियो । उहाँका प्रतिद्वन्दी एमालेका देवराज राईले ८ हजार ७० मत ल्याउनु भएको थियो ।

माओवादीभित्र दोस्रो पटक थोरै मतले जितेर प्रदेशसभाको यात्रा गर्ने उहाँ भाग्यमानी सांसद हुन् । त्यसो त उहाँले मन्त्री नपाइरहँदा संखुवासभामा एमालेका भविश्वर गुरुङलाई ३४ मतले हराएका राजेन्द्र कार्की विना विभागीय मन्त्री हुनु भयो। कार्कीले १३ हजार ४३३ मत ल्याउँदा गुरुङले १३ हजार ३९९ मत ल्याउनु भएको थियो।

आइतबारको मन्त्रिपरिषद् विस्तारमा माओवादीका सांसदहरुले समेत असन्तुष्टि व्यक्त गरेका थिए ।