अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका सबै जिल्लामा एमालेले बनायो नयाँ योजना

लुम्बिनीका सबै जिल्लामा एमालेले बनायो नयाँ योजना


रुपन्देही-नेकपा एमालेले लुम्बिनी प्रदेशका सबै जिल्लाको बैठक राखेर एक महिनाभित्रै नयाँ योजना बनाएको छ।

लुम्बिनी प्रदेशको इन्चार्ज बनेर आउनु भएपछि एमाले सचिव पद्मा अर्यालले लुम्बिनी प्रदेशका १२ वटै जिल्ला कमिटीको बैठक सम्पन्न गराइसक्नु भएको छ ।

सचिव अर्यालले जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै लुम्बिनीका सवै जिल्ला कमिटीका बैठकहरु सम्पन्न गरेर नयाँ योजना बनाउनु भएको हो ।

सबैभन्दा अन्तिममा गुल्मीमा जिल्ला कमिटीको बैठक भएको हो । एक साता अगाडि नै मिति तय भए पनि बाढी र पहिरोका कारण स्थगित गुल्मी जिल्ला कमिटीको बैठक शनिबार सकिएको हो।

गुल्मीको बैठकमा एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, एमाले पोलिटब्यूरो सदस्य एवं गुल्मी जिल्ला इञ्चार्ज सूर्य थापा, केन्द्रीय सदस्यहरू दिनेश पन्थी र गणेश खनाल तथा प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलसहितको टोली पुगेको थियो ।

जिल्ला इञ्चार्ज थापाले बैठकले समस्याको ठोस पहिचानसहित समाधान केन्द्रित छलफलसहित योजना बनाएर जिल्लाका सवै पालिका र वडा तहसम्म पुग्ने कार्ययोजना बनाउने बताउनु भयो ।

यसअघि नै सचिव अर्यालकै उपस्थितिमा रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, प्यूठान, रुकुम, रोल्पा र नवलपरासी जिल्लाको बैठक सम्पन्न भइसकेको छ । बैठकले समस्या पहिचान र समाधानका योजना बनाएको सचिव अर्यालले बताउनु भयो ।

केन्द्रीय कमिटी र सचिवालय बैठकले जिम्मेवारी तोकेसँगै जेठ २९ बाट लुम्बिनी प्रदेशमा आउनु भएकी सचिव अर्यालले पहिलो चरणमा प्रदेश कमिटी बैठकसहित जिल्ला कमिटी बैठकसहित जनसंगठन र प्रचारसँग सम्बन्धित कामको योजना र समाधानका उपायसहित वडा तहसम्म जिम्मेवारी तोक्ने काम गर्नु भएको छ ।

बैठकले आधारभूत तहमा रहेका कार्यकर्तादेखि नेतासम्मको अवस्थाबारे जानकारीसहित हालसम्म काममा देखिएको त्रुटि पहिचान पनि गरेको सचिव अर्यालको भनाइ छ ।

सिंगो प्रदेशमा नेकपा एमालेलाई एकल बहुमतको शक्ति बनाउने गरी काम गर्ने अठोट सवै जिल्ला कमिटीका बैठकमा आएको अर्यालको भनाइ छ । उहाँले भन्नुभयो, ‘पहिलो चरणमा एमालेका नेतादेखि कार्यकर्तासम्मको मनोवल उकासेर काममा दृढताका साथ खटिने गरी योजना बनाइएको छ, समस्याका थप पहिचान पनि भइरहेका छन्।’

एमाले लुम्बिनी प्रदेशका प्रचार प्रमुख डिआर घिमिरेले सचिव सचिव पद्मा अर्यालले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलसहितको टीम लिएर हरेक जिल्ला र पालिका तहसम्म समस्या पहिचान र समाधान केन्द्रित रहेको बताउनु भयो ।

‘प्रदेश र जिल्लाको बैठक, जनसंगठनको भेला भए, पालिकास्तरका बैठक भइरहेको छन् । अब प्रदेश अधिवेशन तयारी छ, जिल्लादेखि पार्टीका वडास्तरका कमिटीको अधिवेशन गर्ने, चलायमान बनाउने अहिलेको मुख्य उद्देश्य हो, इन्चार्जले यसैलाई ध्यान दिएर अगाडि बढाएको देखिन्छ’, घिमिरेले भन्न भयो ।

प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी इन्चार्जसँग सबै जिल्लामा एक महिनाभित्र पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पार्टीलाई चलायमान बनाउनन, असार मसान्तसम्म पूरा गर्नुपर्ने सदस्यता नवीकरणका लागि समन्वय गर्नु, नयाँ कार्ययोजना बनाउने अहिलेका मुख्य उद्देश्य थिए, इन्चार्जले पनि यही विषयलाई उठाउनुभयो।’