काठमाडौं-स्वास्थ्य सेवा विभागले डेंगी रोग नियन्त्रणका लागि सबैलाई आ-आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह गरेको छ।
सोमवार डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले डेंगी नियन्त्रणमा सबैको भुमिका महत्वपूर्ण हुने बताउनु भयो।
उहाँले विभागले डेंगी नियन्त्रणका लागि आवश्यक तयारी गरिराखेको भन्दै विभागको तयारी पर्याप्त नहुने बताउनु भयो। उहाँले डेंगी नियन्त्रणका लागि घर भित्रैबाट काम गर्नुपर्ने बताउनु भयो। उहाँले घरमा सरसफाईमा ध्यान दिने, पानी जम्ने खाल्डाखुल्डी नराख्ने तथा लामखुट्टेहरुको नष्ट गर्ने अभियान घर देखि नै शुरु गर्नुपर्ने बताउनु भयो। उहाँले लामखुट्टेले रातमा मात्रै नभई दिनमा पनि टोक्ने भएकाले यसप्रति सजग हुनुपर्ने बताउनु भयो । डेंगी रोगको सम्बन्धमा विद्यालयदेखि नै सिकाउनुपर्ने उहाँको भनाई छ । उहाँले पालिकाहरुमा डेंगी नियन्त्रणका लागि केही बजेट र आवश्यक कुराहरु समेत गएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘झुल लगाएर बस्दाखेरी हामी राति मात्रै सुरक्षित हुन्छौँ । यो त डे बाइटर हो। यो पनि एकदम स्पष्टसँग हामीले जनमानसमा पु¥याउनु पर्नेछ। यो डे बाइटर हो। झुल लगाएर मात्र हुँदैन यसले। अर्कोकुरा बिरामीलाई झुलमा राखियो भने त्यहाँ लामखुट्टे छ भने टोकेर अरुलाई सार्ने कुरा रहँदैन । सामान्य कुरा बुझ्यौँ भने रोकथाम गर्न अगाडी बढ्न सक्छौँ । सबैले काम गर्नुप¥यो । स्कुलमा बच्चालाई सिकाउन सक्यौँ भने, यो एउटा संस्कृति बनाउन सक्यौँ भने आगामी पाँच/दश वर्षमा डेंगीलाई सानो स्केलमा राख्न सकिन्छ। कार्यक्रमगत रुपमा सबै पालिकाहरुमा यसको केही बजेटहरु गएका छन्। यसलाई नियन्त्रण गर्नका लागि आवश्यक कुराहरु गएको छ। पर्याप्त नहोला तर सबै ठाउँमा गएको छ । अर्को कुरा तयारीको अवस्थामा रहन पनि हामीले क्रमिक रुपमा छलफल गरेका छौँ। सिरियस रुपले गएका छौँ। यतिले मात्रै पर्याप्त हुँदैन। सबै ठाउँबाट हामीले उज्यालो छर्नुप¥यो।’
अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. विमल शर्मा चालिसेले करिव ८० प्रतिशत बिरामीहरुमा डेंगी लागेपनि कुनै लक्षण नदेखिने बताउनु भयो । उहाँले करिब १०/१५ प्रतिशत बिरामीहरुमा सामान्य लक्षण मात्रै देखिने उल्लेख गर्नुभयो। डेंगीको औषधि नभएको भन्दै उहाँले लक्षण अनुसारको उपचार गर्ने भएकाले यस रोगप्रति सचेत हुनुपर्ने उहाँले बताउनुभयो। जमेको पानीलाई नष्ट गर्नुपर्नेमा उहाँले ध्यानाकर्षण गराउनु भयो।
स्वास्थ्य सेवा विभागले यस वर्ष पनि डेंगीको रोकथाम तथा नियन्त्रणका लागि आफूहरु तयारी अवस्थामा रहेको जनाएको छ।






प्रतिक्रिया